
लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको लागि उमेदवार सार्वजनिक गरिएको छ ।
यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो ।
अधिवेशनको दिन नजिकिएसगँै नेपाली काग्रेसले मंगलबार लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङ अध्यक्ष, आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्षमा उमेदवार खडा गरेको छ । त्यस्तै महिला सदस्यहरुमा अतिरुपा सेढाई र अपना खनाल, दलित सदस्यमा गणेश कामी, खुल्ला सदस्यहरुमा टिकाराम वाग्ले, लोठ बहादुर गुरुङ, नरहरी पौडेल र अजित बहादुर अधिकारीले उमेदवारी सार्वजनिक गर्नुभएको छ ।
त्यस्तै नेकपा एमालेले प्रगतिशिल समूहको अध्यक्षमा रामबहादुर गुरुङ, उपाध्यक्षमा श्रद्धा पौडेल, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ, सदस्यहरुमा शान्ति बहादुर बस्नेत, भिमसेन अधिकारी, राजन पौडेल, विनोद तामाङ, महिला सदस्यहरु युग्मी गुरुङ र सविना रिमाल र दलित सदस्यमा गोपाल परियारलाई उमेदवार बनाएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर वडा नंं ७ वडा समितिका सचिव विष्ष्णु घिमिरेलाई अध्यक्षको प्रत्यासी बनाएको छ । स्वतन्त्र समूहबाट उपाध्यक्षमा सविता अधिकारी बराल, सचिवमा श्याम अर्याल, कोषाध्यक्षमा मीना खड्का र सदस्यहरुमा दिपु श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयँल, अहलदिन मिया, महिला सदस्यहरुमा भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ, दलित सदस्यमा केशब दुलाल उमेदवार बनेका छन् ।
एक दशक पछि अहिले बेसीशहर खानेपानी उपभोक्ता समितिको अधिवेशन हुन लागेकाले यसले बेसीशहरमा पुनः राजनीतिक गर्मी थपेको छ । बर्तमान समितिको कार्यकाल सकिएको झण्डै ६ बर्ष वितिसकेको छ ।
चार बर्षे कार्यकाल रहेको उपभोक्ता समितिको अधिवेशन २०७५\०७६ मै सम्पन्न हुनुपर्ने थियो । २०७६ मा अधिवेशन आह्वान समेत भएकोमा त्यतिबेला कोरोना महामारीलाई कारण, त्यसपछि २०७८ मा पुनः अधिवेशन आह्वान भएकामा ०७९ मा हुने स्थानीय निर्वाचनलाई कारण देखाएर बेसीशहर नगरपालिकाले स्थगित गर्न निर्देशन दिएपछि स्थगित भएको बताइएको छ
बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गठन गरेको निर्वाचन समितिले यही असार ४ गते मतदाता नामावली प्रकाशन, ६ गते बिहान ११ बजेसम्म मतदाता नामावली उपर दावी विरोध, ६ गते दिउसो २ बजे अन्तिम नामावली प्रकाशन, असार ७ गते दिउसो ४ देखि ६ बजेसम्म उमेदवारहरुको मनोनयन दाखिला, उमेदवारहरुको पहिलो नामावली सोही दिन बेलुका ६.१५ बजे, मनोनयन उपर दावी विरोध सोहीदिन ६.१५ देखि ६.३० सम्म हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।त्यस्तै असार ७ गते बेलुकी ७ बजेबाट ८ बजेसम्म मनोनयन फिर्ता, ८.१५ सम्म उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने र असार ८ गते बिहान ९ बजेबाट बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।
यस पटकको अधिवेशनलाई पनि आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले तयारी थालेका छन् । बेसीशहर खानेपानीमा यस अघि नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी टक्कर हुने गरेकोमा यसपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मैदानमा उत्रिए पछि त्रिपक्षिय भिडन्त हुने भएको छ ।
बेसीशहर खानेपानीको निर्वाचनले स्थानीय निर्वाचनको झल्को दिने गरेको ईतिहास छ । यो अधिवेशनलाई राजनीतिक दलहरुले समेत प्रतिष्ठाको लडाईँ सम्झने भएकाले अधिवेशनको नतिजाले बेसीशहरमा कुन पार्टीको पकड छ भन्ने स्पष्ट झल्को समेत दिएको मानिन्थ्यो । दिनदिनै जटिल बन्दै गैरहेको बेसीशहरको खानेपानी समस्याको दुरगामी निकासका लागि अब आउने नेतृत्वले विषेश पहल गर्नुपर्ने बेसीशहरबासीको भनाई छ ।
बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत अहिले ब्यक्तिगत र संस्थागत गरी ३ हजार १ सय ९७ धारा जडान गरिएका छन् । यीमध्ये ब्यक्तिगत धारा हुनेले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् ।