
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सदरमुकाममा भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।
नव निर्वाचित जिल्ला समिति सभापति पदमा अशोक सापकोटा ६९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी भोलानाथ शर्माले ४९ मत प्राप्त गर्नुभयो। सभापतिका अन्य उम्मेदवारहरू हरि बहादुर धितालले ३३, नबराज पहाडीले ७ र विजय रञ्जन पौडेलले १६ मत प्राप्त गर्नुभएको छ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गरिएको थियो । तर शीर्ष दुई प्रतिस्पर्धीमध्ये भोलानाथ शर्माले पुनः मतदान हुनुअघि चुनावी प्रक्रिया छोडेपछि आइतबार राती सम्पन्न अधिवेशनबाट सापकोटा निर्विरोध निर्वाचित भएका हुन् । सापकोेटा यसअघि पनि जिल्ला संयोजकको जिम्मेवारीमा रहनुभएकोे थियो ।
यसैगरी उप–सभापति पदमा शान्तोषी गौली ८६ मतका साथ विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रकाश थापाले ६९ र बाबुराम अधिकारीले १९ मत पाउनुभयो।
सचिव पदमा मिना खड्का ११४ मतको भारी बहुमतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरू मिलन शर्मा दनाईले २५ र ज्ञानेन्द्र शर्माले २८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सह–सचिव पदमा गोविन्द बहादुर घले ६६ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एक नारायण श्रेष्ठले ६२ र महेन्द्र बहादुर थापाले ४० मत प्राप्त गर्नुभयो।
सदस्यमा ४ जना पदको लागि कुल १२ जना उम्मेदवार चुनावी मैदानमा रहेको सदस्य पदमा सबैभन्दा बढी मत ल्याउने ४ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा सविता अधिकारी बरालले १ सय ४, सुरेन्द्र लाल श्रेष्ठ ७७ मत, सिंह बहादुर घले ६४, श्याम गुरुङ ६४ मत ल्याएर जिल्ला सदस्य पदको लागि विजय भएका छन् ।
सदस्य पदका अन्य उम्मेदवारहरू महेश अधिकारीले ५९, होम बहादुर राउतले ४७, ईश्वर बहादुर थापाले ४५, जगत बहादुर खड्काले ३७, कुम बहादुर तामाङ्गले ३७, दिपेश श्रेष्ठले ३३, विनोद राज चिलवालले २५ र लक्ष्मण कुँवर बस्नेत बापाले २१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
अधिवेशनमा कुल २ सय १६ प्रतिनिधिमध्ये १ सय ७६ जनाले मतदान गरेका थिए ।
अधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण र आगामी केन्द्रीय महाधिवेशनको तयारीका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पेको छ। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरिसकेको छ।











