
लमजुङका विभिन्न स्थानीय तहहरूले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा र संरचना हटाउन अभियान थालेका छन् । बेंसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका हुन् ।
बेंसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सार्वजनिक जग्गामा बनाइएका संरचना ३५ दिनभित्र हटाउन चेतावनी दिएको छ । अटेर गरे नगरपालिकाले डोजर लगाएर हटाउने र खर्चसमेत सम्बन्धित पक्षबाट असुल गर्ने जनाएको छ ।
सुन्दरबजार नगरपालिकाले सार्वजनिक, ऐलानी, पर्ती तथा खोला–नदी क्षेत्र संरक्षणका लागि सुझाव तथा गुनासो संकलन अभियान सुरु गरेको छ । साथै, नक्सा पास नभएका वा मापदण्ड विपरीत बनेका घरलाई ३० दिनभित्र अभिलेखीकरण प्रक्रियामा आउन आग्रह गरिएको छ ।
राइनास नगरपालिकाले पनि सार्वजनिक जग्गामा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ । सडक अतिक्रमण गरी निर्माण सामग्री वा पसलका सामान राखे कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
यस्तै, मध्यनेपाल नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउने सम्बन्धमा साथै मर्स्याङ्दी गाउँपालिकाले समिति गठन गरी सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचना हटाउने अभियान सुरु गरेको थियो । यस्तै, क्व्होलासोथार, दोर्दी र दूधपोखरी गाउँपालिकाले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अनौपचारिक रूपमा निर्देशन दिँदै आएका छन् ।
सूचना निकालेर सार्वजनिक जग्गाहरु खाली गर्न गराउन निर्देशन दिएका पालिकाहरुले अब कत्तिको कडाइका साथ अतिक्रमति जग्गा फिर्ता गर्न लागि पर्छन् त्यो भने हेर्न बाँकी नै छ ।










