भानु जयन्तीका अवसरमा लक्ष्मीनारायण पुस्तकालयमा कवितावाचन प्रतियोगिता

-


     सृजना बराल     
     असार २९ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहरस्थित श्री लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले २१५औँ भानु जयन्तीका अवसरमा खुला कवितावाचन प्रतियोगिता तथा प्रवचन गोष्ठी आयोजना गरेको छ।

महिलाहरुका विचमा मात्रै आयोजना गरिएको खुला कवितावाचन प्रतियोगितामा अमृता घिमिरे प्रथम, कमला केसी द्वितीय, कमला दनाई तृतीय तथा सृजना बराल सान्त्वना हुनुभएको थियो। विजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै नेपाली भाषा र साहित्यको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा बेसीशहर नगरपालिका–८ का वडाध्यक्ष पवित्र राना, लिस्नो साहित्य मञ्चका संरक्षक बसन्त अधिकारी, श्री लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, रमाराज खनिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुयेलले अध्यक्षतामा भएको प्रमुुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव सरोज दनाईले गर्नुभएको थियो।

कवितामा विजेता महिलाहरु