
पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’ को जन्मोत्सवको अवसरमा उहाँद्वारा लिखित ‘आमा’ पुस्तकको विशेष समारोहका बीच विमोचन गरिएको छ।
पोखरामा भएको पुस्तकको विमोचन कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेल र तुलसी कँडेल ले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले पुस्तकले मातृत्व, पारिवारिक मूल्य र समाजप्रतिको उत्तरदायित्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखक रावललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो।
सोही अवसरमा संघका संरक्षक शिवप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष गंगा हमालपुरी, प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्ष गंगादेवी बराल, महासचिव चन्द्रबहादुर भुजेल, सचिव तथा कार्यक्रम सञ्चालक सुन्दर शर्मा पौडेल, कोषाध्यक्ष अप्सरा काफ्ले बराल, मानार्थ सदस्य केशवराज बराल, वरिष्ठ सदस्य शेरबहादुर खत्री क्षेत्री, केन्द्रीय सदस्यहरू रूपा गुरुङ, सीता थारु, सिर्जना खवास र नन्दबहादुर गुरुङ, कास्की जिल्ला सचिव सम्झना सार्की, सह–संयोजक उमादेवी बास्तोला, सल्लाहकार मिठु गिरी, आजीवन सदस्य बिना शाही र सिर्जना गिरी लगायत जिल्ला पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै लेखक तथा केन्द्रीय अध्यक्ष रावलले पुस्तकमा आफ्नी स्वर्गीय आमा सीता भण्डारी रावलको जीवनयात्रा, संघर्ष, त्याग, ममता र प्रेरणादायी व्यक्तित्वलाई समेटिएको बताउनुभयो। उहाँले आफ्नी आमाको जीवनकथा मार्फत संसारभरका सम्पूर्ण आमाप्रति सम्मान व्यक्त गर्दै मातृत्वको महत्त्व उजागर गर्न खोजिएको उल्लेख गर्नुभयो।
रावलको मन्तव्यले कार्यक्रममा उपस्थित सहभागीहरूलाई भावविभोर बनाएको थियो। मातृत्व, आमाको त्याग र सन्तानप्रतिको निःस्वार्थ प्रेमबारे उहाँले व्यक्त गरेका विचारले कार्यक्रममा आत्मीय र प्रेरणादायी वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका थिए।
कार्यक्रमले केन्द्रीय अध्यक्ष रावलको जन्मोत्सवलाई स्मरणीय बनाउनुका साथै ‘आमा’ पुस्तकमार्फत मातृत्वको सम्मान, पारिवारिक मूल्य, संस्कार र मानवताको सन्देश समाजमा प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत स्थापित भएको सहभागीहरूको भनाइ थियो।









