उदिपुर पहिरो व्यवस्थापन सम्पन्न, ४ बर्षमा १३ करोड लगानी

-


     सृजना बराल     
     वैशाख २५ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहर १ उदिपुरमा वर्षौंदेखि समस्या बन्दै आएको पहिरो व्यवस्थापन कार्य सम्पन्न भएको छ। डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गत पर्ने यस जोखिमयुक्त क्षेत्रमा पछिल्लो ४ वर्षमा करिब १३ करोड रुपैयाँ लगानी गरेर पहिरो नियन्त्रण तथा सडक संरक्षणको काम गरिएको हो।

डुम्रे बेसिशहर चामे सडक आयोजना लमजुङका प्रमुख सतिश सुबेदीका अनुसार पहिरो व्यवस्थापनका लागि आधुनिक प्रविधि प्रयोग गरिएको छ। उनका अनुसार सो क्षेत्रमा ‘सोयल नेलिङ’, ‘थ्रीडी’, ‘माइक्रो पाइलिङ’, ड्रेनेज प्रणाली तथा ‘सर्फेस बायो–इन्जिनियरिङ’ प्रविधिबाट काम गरिएको हो। विशेषगरी ढलान स्थिर बनाउने, पानीको बहाव नियन्त्रण गर्ने तथा पहिरोको जोखिम कम गर्ने उद्देश्यले यी प्रविधि अपनाइएको उनले बताए।

उदिपुर क्षेत्र भू–बनोटका दृष्टिले कमजोर र वर्षायाममा अत्यन्त संवेदनशील मानिने भएकाले हरेक वर्ष पहिरोका कारण सडक अवरुद्ध हुने समस्या रहँदै आएको थियो। पहिरोका कारण यातायात अबरुद्ध हुदा यात्रु, स्थानीय बासिन्दा तथा मनाङ जाने सवारीसाधन प्रभावित हुने गरेका थिए।

पहिरो व्यवस्थापनसँगै अहिले सो सडकखण्ड कालोपत्रे (पिच) गरिएको छ। सडक स्तरोन्नतिपछि अहिले गाडी सहज रूपमा सञ्चालन हुन थालेका छन्। यसले यात्रुलाई सुरक्षित र सहज यात्रा गर्न सहयोग पुगेको छ। साथै वर्षायाममा समेत लामो समय सडक अवरुद्ध हुने समस्या घट्ने अपेक्षा गरिएको छ।

हाल सो क्षेत्रमा नाला निर्माणको काम पनि जारी रहेको जनाइएको छ। पानीको उचित निकास व्यवस्थापन गर्न सके सडक तथा पहिरो नियन्त्रण कार्य थप प्रभावकारी हुने प्राविधिकहरूको भनाइ छ। उदिपुर पहिरो व्यवस्थापन कार्यलाई जिल्लाको मुख्य सडकखण्ड सुरक्षित बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।