प्रदेश अस्पताल लमजुङद्वारा अन्तरक्रिया तथा कार्यशाला गोष्ठी आयोजना

-


     सृृजना बराल     
     वैशाख ३ गते २०८३ मा प्रकाशित


प्रदेश अस्पताल लमजुङले आफूले प्रवाह गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले स्थानीय तह तथा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वयात्मक कार्यशाला गोष्ठी आयोजना गरेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष पुरनबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटा, सर्जन डा. विवेक पौडेल तथा डा. अमृत अधिकारीले अस्पतालले प्रदान गरिरहेका सेवा तथा हालसम्म सम्पन्न गरेका कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो।

बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङ ५० शय्याको भए पनि हाल ८४ बेड सञ्चालनमा रहेको छ। अस्पतालले हाल १९ प्रकारका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। हालसम्म १,३५९ वटा साना तथा ठूला शल्यक्रिया सम्पन्न गरिएको छ भने ६२८ बिरामीलाई आईसीयूमा उपचार गरिएको छ। साथै २२ जनालाई भेन्टिलेटरमार्फत उपचार सेवा प्रदान गरिएको छ।

दैनिक तीन जना बिरामीलाई सिटी स्क्यानका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यस्तो सेवा अस्पतालमै उपलब्ध गराउन सके बिरामीलाई ठूलो राहत पुग्ने बताइएको छ।

अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढिरहेको मेसु डा. देवकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक बिरामी सङ्ख्यामा ६२ जनाले वृद्धि भएको छ भने वार्षिक रूपमा करिब २२ हजार बिरामी थपिएका छन्।त्यसैगरी अस्पतालले हालसम्म १,७०५ पटक हेमोडायलाइसिस सेवा प्रदान गरेको छ भने ५६ जना बिरामी नियमित डायलाइसिस गराइरहेका छन्। एक वर्षको अवधिमा ४४६ प्रसूति सेवा तथा ७२ नवजात शिशु सेवा प्रदान गरिएको जानकारी पनि कार्यक्रममा दिइयो।

कार्यक्रममा स्थानीय तहसँग सहकार्य आवश्यक रहेकोमा जोड दिँदै महिनामा एक वा दुई पटक विशेषज्ञ डाक्टरहरूलाई पालिकास्तरमा पठाउने योजना रहेको जनाइएको छ। यसबाट गाउँमै सेवा उपलब्ध भई अस्पतालको भीड कम हुने तथा नागरिकले सहज रूपमा विशेषज्ञ सेवा पाउने विश्वास व्यक्त गरिएको छ।

अस्पतालले निकट भविष्यमै ब्लड बैंक स्थापना गर्ने तयारी गरेको छ। हालसम्म ब्लड कलेक्सन मात्रै भइरहेकोमा आवश्यक उपकरण छिट्टै ल्याइने मेसु डा. देवकोटाले जानकारी दिनुभयो। साथै प्याथोलोजी ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार अभाव रहेको जनाउँदै सम्बन्धित निकायसँग सहयोगको आग्रह गरिएको छ।

कार्यक्रमका अवसरमा उत्कृष्ट कार्य गरेका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। इमर्जेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट मिलन भण्डारी र डायलाइसिस विभागलाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम अस्पतालका पुरुषोत्तम घिमिरेले सञ्चालन गर्नुभएको थियो भने अस्पताल व्यवस्थापन समितिका सदस्य जुन तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो। साथै डा. तिलक घिमिरेले मन्तव्य राख्दै अस्पताल हाल करारका डाक्टरहरूको भरमा सञ्चालन भइरहेको उल्लेख गर्दै उनीहरूलाई जिल्लामै टिकाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले सबै पालिकामा आधुनिक भवन निर्माण भइरहेका बेला जिल्लाभरिका नागरिकलाई सेवा दिने अस्पताल अझै पुराना भवनमा सञ्चालन हुनु दुःखद रहेको बताउनुभयो। सुविधा सम्पन्न अस्पताल भवन निर्माणमा ढिलाइ हुनु गम्भीर विषय भएको डा घिमिरेको भनाइ थियो।

कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, क्व्होलासोथार गाउँपालिकाका प्रमुख सूर्य गुरुङलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।