
लमजुङको क्व्होलासोथार गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं ६ पसगाउँले जितेको छ।
युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं। ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो चरणमा ३–३ को बराबरी भएपछिको सडनडेथमा सिङ्दी गोल गर्न चुकेपछि पसगाउँ ४–३ गोलले विजयी बनेको हो ।
महिलातर्फको फाइनलमा वडा नं। १ बाग्लुङपानीलाई ३–० गोलअन्तरले पराजित गर्दै पसगाउँले उपाधि जितेको हो।
पुरुषतर्फ विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सिङ्दीले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। महिलातर्फ विजेता पसगाउँले ५० हजार रुपैयाँ र उपविजेता बाग्लुङपानीले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, पूर्व उपाध्यक्ष कुमारी मुनी गुरुङ तथा आयोजक समितिका अध्यक्ष नौराज गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा महिलातर्फ वडा नं ४ भुजुङकी सरिता बिक ४ गोलसहित सर्वाधिक गोलकर्ता घोषित भइन् । वडा नं। ६ पसगाउँकी ललिता गुरुङ उत्कृष्ट खेलाडी चुनिइन्। उनीहरूलाई जनही ३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकका सचिव डिलेश्वर गुरुङले जानकारी दिनुभयो।
पुरुषतर्फ वडा नं। ६ पसगाउँका टिम कप्तान नवराज गुरुङ ६ गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए । वडा नं। ५ सिङ्दीका बनिष गुरुङ उत्कृष्ट खेलाडी चुनिए। उनीहरूलाई जनही ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
चैत २७ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो।









