लमजुङमा ब्लड डोनर्स एप्स सार्वजनिक, रगत व्यवस्थापन अब डिजिटल रुपमा

-


     सृजना बराल     
     चैत्र २८ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर युथ सोसाईटी सेराद्वारा विकसित “ब्लड डोनर्स” एप्स सार्वजनिक गरिएको छ। शनिबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले एक कार्यक्रम बिच ब्लड डोनर्स एप्सको उद्घाटन गरेका गर्नुभएको हो ।

यस एप्समार्फत प्रयोगकर्ताहरूले अब आवश्यक रगत कहाँ उपलब्ध छ भनेर खोज्न तथा ब्लड ब्याङ्कमा कति रगत मौज्दात भनेर हेर्न, रगत दान गर्ने दाताहरुको नाम हेर्न तथा एम्बुलेन्स सेवा सम्बन्धी जानकारी लिन सजिलै सक्नेछन्। युवाहरुले समाजमा फाइदा हुने काम गरेकोमा मेयर अर्यालले प्रसंसा गर्दै बेसीशहर युथ सोसाइटीलाई धन्यवाद दिनुभयो ।

आपतकालिन अवस्थामा रगत अभावका कारण हुने मृत्यु दर घटाउने उद्देश्यसहित विकास गरिएको यो एप्सले आवश्यक समयमा रगत उपलब्ध गराउन सहज बनाउने विश्वास गरिएको छ। स्थानीय तहहरूमध्ये बेसीशहर नगरपालिका प्रविधिमार्फत रगत व्यवस्थापन सुरु गर्ने पहिलो नगरपालिका बनेको एप्स निमार्ण गर्ने गिरिजा भट्टराईले बताउनुभयो ।

एप्समा लमजुङ जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूको जानकारी पनि समावेश गरिएको छ, जसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। हाल देशका ३५ जिल्लामा यस्तो प्रणाली विस्तार गर्ने काम भइरहेको छ। देशभरका ७ सय ५३ स्थानीय तहहरूमध्ये बेसीशहर नगरपालिका प्रविधिमार्फत रगत व्यवस्थापन सुरु गर्ने पहिलो नगरपालिका बनेको बेसीशहर युथ सोसाइटी सेराका अध्यक्ष रविन श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख जितेन्द्र बहादुर बस्नेत, शसस्त्र प्रहरी गुल्म हेडक्वाटर लमजुङका प्रहरी निरिक्षक झपिन्द्र बानिया,वडा नं ८ का वडाध्यक्ष पवित्रा थापा मगर, प्रदेश अस्पतालका मेसु डा. शिशिर देवकोटा, नमुना अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश अस्पताल बेसीशहर लमजुङसगँ समन्वय गरेर सञ्चालन गरिने ब्लड डोनर्स एप्स मार्फत प्रविधिको प्रभावकारी प्रयोगले स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।