
यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारीहरुले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेर निर्वाचन केन्द्रतर्फ लागेका छन् । बेसीशहरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीले नियुक्तिपत्र तथा निर्वाचन सामाग्री बुझेका हुन् ।
निर्वाचन सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब १ हजार १ सय ५२ जना कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ। केही केन्द्रमा महिला कर्मचारीको मात्र टोलीसमेत परिचालन गरिएको जनाइएको छ। कर्मचारीहरूलाई मतदान प्रक्रिया, मतगणना र आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका छन्। मतदान कार्य सञ्चालनका लागि जिल्लाभर १ सय ३० मतदान स्थल र १ सय ९२ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा रहेका जम्मा मतदान स्थलमध्ये ३० वटालाई अति संवेदनशिल, ७७ वटालाई संवेदनशिल र २३ वटा मतदान स्थललाई सामान्य रुपमा छुट्याएको छ ।
सुरक्षाको दृष्टिले पनि लमजुङमा कडा व्यवस्था मिलाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी २५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान स्थलमा पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी रहनेछन् भने तेस्रो सुरक्षा घेरामा नेपाली सेना तयारी अवस्थामा रहने सुरक्षा निकायले जनाएको छ। सेना विशेषगरी मतपत्र तथा संवेदनशील सामग्रीको ढुवानी र मतगणना स्थलको सुरक्षा व्यवस्थामा खटिनेछ।
सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षा निकायले संयुक्त गस्ती, निगरानी र समन्वयात्मक योजना लागू गरेको जनाएको छ। समग्रमा लमजुङमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सबै पक्ष सक्रियतापूर्वक तयारीमा जुटेका छन्।










