पाठेघरको क्यान्सरबाट जोगिने एच.पि.भि खोप कार्यक्रम सुरु हुँदै

-


     सृजना बराल     
     माघ २३ गते २०८२ मा प्रकाशित


महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि (ह्युमन पापिलोमा भाइरस) खोप कार्यक्रमको आयोजना गरिएको छ । एच.भि.पी खोप कार्यक्रम २०८२ को बारेमा प्रदेश स्वास्थ्य कार्यालय लमजुङले शुक्रबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो ।

लमजुङ जिल्लाभित्रका सम्पूर्ण विद्यालयका कक्षा ६ मा अध्ययनरत बालबालिकाहरुलाई आगामी माघ २६ गते देखि २९ गतेसम्म एच.भि.पी खोप लगाइने तथा सो समयमा छुट भएका किशोरीहरुलाई फागुन १ गते देखि ३ गते सम्म प्रदेश अस्पताल लमजुङ खोप केन्द्रबाट खोप लगाउन सकिने कार्यक्रममा जानकारी गराइएको छ ।

खोप कार्यक्रममा नियमित तथा अभियानमा छुट भएको गरी १ हजार २ सय ५८ जना किशोरी छात्राहरुलाई एच.पी.भि. खोप लगाइने बताइएको छ । सो खोप कार्यक्रमको लागि १ सय २० खोप कार्यकर्ता, १ सय ९२ जना स्वयमं सेवक खटिने छन् भने विद्यालय तथा स्वास्थ्य केन्द्र गरी २ सय १३ वटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थय कार्यलय लमजुङका प्रमुख शैलेन्द्रकुमार शिलवालले बताउनुभयो ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल, प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना, जिल्ला समन्वय समितिका समन्वय अधिकारी महेश सुवेदी, प्रदेश अस्पतालका मेसु शिसिर देवकोटा, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिवाकर शर्मा, रेडक्रसका जिल्ला सभापति ऋषिराम घिमिरे, एचडिसिएस नमुुना सामुदायिक अस्पतालका निर्देश हेमन्त श्रेष्ठ लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खोपको बारेमा जानकारी गराउँदै स्वास्थ्य कार्यलय लमजुङका प्रमुख शैलेन्द्रकुमार शिलवालले एचभिपी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सबैभन्दा प्रभावकारी हुने बताउनुभयो । यौन सम्पर्क सुरु हुनु अघि खोप लगाउँदा यसले शरीरलाई उच्च जोखिमयुक्त भाइरसबाट सुरक्षित राख्छ । आवश्यकता अनुसार १५ वर्षभन्दा माथिका महिलाले पनि चिकित्सकको सल्लाहमा खोप लगाउन सक्नेछन् ।

खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरको जोखिम घट्नुका साथै एचभिपी बाट हुने अन्य पाठेघरको क्यान्सर पनि सुरक्षा मिल्छ । खोप नलगाउँदा भने संक्रमणको जोखिम बढ्ने र भविष्यमा क्यान्सर जस्ता गम्भीर समस्या देखिन
सक्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा पछिल्ला वर्षहरूमा सरकारले किशोरी लक्षित एचभिपी खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्यकर्मीहरूले खोपसँगै नियमित स्वास्थ्य परीक्षण र सचेतनामा पनि ध्यान दिन आग्रह गरेका छन् ।