
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ जगत स्थित तातोपानी कुण्डको पर्यटकीय गन्तव्य बनेको छ । गतवर्ष स्तरोन्ती गरिएको जाडो सिजनमा तातोपानी कुन्डमा सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् ।
विश्वकै ख्यातिप्राप्त दश पर्यटकीय पदमार्गमध्ये एक रहेको अन्नपूर्ण चक्रीय पदमार्गको रुपमा रहेको बेसीशहर– चामे– थोराङ– मुक्तिनाथ पदमार्गमा पर्ने जगत बजारबाट १० मिनेटको दुरीमा मस्र्याङदी नदीकिनारमा सो तातोपानी कुण्ड रहेको छ ।
यो तातोपानी कुण्डमा गएर शरीर डुबाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी धेरै रोगहरू निको हुने जनविश्वास रहेको बेसीशहर नगरपालिका वडा नं ३ निर्मला खड्काले बताउनुभयो ।
विशेषगरी जाडो याममा यो कुण्डमा नुहाउनअर्थात डुबुल्की मार्न आउनेहरूको भीड लाग्ने गरेको छ । तातोपानीको मुहानको पानीको तापक्रम ५८ डिग्री सेल्सियस छ । त्यो पानीपोखरीमा आइपुग्दा ५२ डिग्री सिल्सियसमा झर्छ ।
तातोपानी कुण्डमा नुहाउँदा छाला सम्बन्धी रोगहरू, बाथतथा हाडजोर्नीका रोगहरू निको हुने जनविश्वासका कारण मस्र्याङ्दी गाउँपालिकाका बाहेक बेसीसहर, सुन्दरबजार, राइनास, दोर्दी गाउँपालिका तथा मनाङ, चितवन, काठमाडौंबाट समेत मानिसहरू पनि आउने गरेका स्थानीयहरु बताउँछन् ।

चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरूले पनि थाहा पाएसम्म तातोपानी कुण्डमा पुगेर नुहाउने गरेका छन् । जाडो सिजनमा पर्यटकको अध्याधिक चाप बढ्न थालेपछि जगतको तातोपानी कुण्डमा स्तरोन्तती गरी साना ठुला गरी ७ वटा पोखरी बनाइएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
सो ठाउँमा पर्यटन बोर्ड, गाउँपालिका तथा स्थानीयले श्रमदान गरी आरामगर्ने ठाउँ, लुगा फेर्ने ठाउँ र पुरुष महिलाको शौचालय निर्माण, च्याम्बर र पानीको धारा, मस्र्याङदी नदीको पट्टीको किनारामा बलियो पर्खाल लगाउनुका लगाइएको छ भने पोखरीमा आउने जानेहरुको सहजताका लागि बाटोमा सिँढी निर्माण गरिएको छ । सो तातोपानी कुन्ड भएको ठाउँलाई पिकनिक स्पटमा रुपमा विकास गरिएको छ ।
केही वर्ष अघिसम्म सोही पालिका वडा नं ६ को बाहुनडाँडा स्थित मर्स्याङ्दी नदीकिनारमा रहेको तातोपानी कु
ण्ड निकै प्रख्यात थियो । केही वर्ष अघि नदीमा आएको बाढीले तातोपानी कुन्ड नै वगाएपछि सोही पालिका– ४ को जगतमा रहेको उक्त कुण्डमा मान्छेहरुको भिड बढ्न थालेको हो ।
चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने यो तातोपानी लमजुङ सदरमुकाम बेसीसहरबाट २५ किलोमिटर दुरी उत्तरतर्फ पर्छ । मोटरसाइकलमा २ घण्टा र जिपमा साँढे २ घण्टामा पुग्न सकिने उक्त ठाउँमा बास बस्न होटलहरुको व्यवस्था छ ।









