
लमजुङ जिल्लामा हाल १० जना कुष्ठरोगका बिरामी उपचारत रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । आइतबार ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा लमजुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको अवस्था, लक्षण, पहिचान तथा उपचार विधिबारे जानकारी दिइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा क्षयरोग सुपरभाइजर निरोज श्रेष्ठले कुष्ठरोग समयमै उपचार गरे पूर्ण रूपमा निको हुने रोग भएको बताउनुभयो । शरीरमा नचिलाउने लाटो, फुस्रो दागहरु देखा परेमा, हातखुट्टा झमझाउमा वा चेतना शक्ति हराएमा, हातखुट्टा तथा आँखाको मांशपेशीहरु कमजोर भएमा, स्सनायुहरु सुन्निएमा वा पिडा भएमा, शरीरमा गिर्खाहरु आएमा वा नदुख्ने घाउहरु भएमा कुष्ठरोगको लक्षण हुन सक्ने श्रेष्ठले बताउनुभयो ।
कार्यालयका अनुसार कुल १३ जनामध्ये ३ जनाले नियमित औषधि सेवन गरी उपचार पूरा गरिसकेका छन् । हाल १० जना उपचारत बिरामीहरू नियमित निगरानीमा रहेको जनाइएको छ ।
कुष्ठरोगप्रति समाजमा रहेका गलत धारणाका कारण बिरामीहरूले विभेद र सामाजिक लाञ्छना भोग्नुपरेको उल्लेख गर्दै यस्ता भ्रम अन्त्य गर्न सबै सरोकारवालाको भूमिका आवश्यक रहेको बताइएको छ । कार्यक्रम ‘कुष्ठरोगको छ औषधि, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती’ भन्ने नाराका साथ आइतबार कुष्ठरोग दिवश बनाइएको छ ।

पत्रकार भेटघाट कार्यक्रम स्वास्थय कार्यालय प्रमुख शैलेन्द्रकुमार सिलवालले एचआईभि एड्सको जोगिने उपाय, सर्ने तरिका यस सम्वन्धी देश र जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख शैलेन्द्रकुमार सिलवालको अध्यक्षतामा भएको थियो ।









