आचारसंहिताको पूर्ण रुपमा पालना गर्न प्रशासनको आग्रह

-


     नयाँ दीप    
     माघ ८ गते २०८२ मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय लमजुङले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।
सूचनामा स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा कुनै किसिमको भेला गर्न नपाइने उल्लेख छ । साथै, यस्ता कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको जानकारी गराउनुपर्ने उल्लेख छ ।

एकै समयमा एउटै स्थान वा मार्गमा एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ संगठनले जुलुस, आमसभा, बैठक वा भेला गर्न नपाइने प्रशासनले जनाएको छ । यदि त्यस्तो अवस्था सिर्जना भएमा कार्यक्रम स्थल वा मार्ग परिवर्तन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।

आचारसंहिता उल्लंघन भए राजनीतिक दल वा उम्मेदवारले कानुनअनुसार कारबाही व्यहोर्नुपर्ने प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाले बताउनुभयो ।