
आगामी फागुन २१ गते गर्न लागिएको प्रतिनिधी सभाको चुनावका लागि लमजुङमा ४ दलले आफ्नो उमेद्वारको टुङ्गो लगाएका छन् । लमजुङ जिल्लाबाट आगामी निर्वाचनका नेपाली काग्रेंस, नेकपा एमाले, नेपाली कम्प्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवारको टुङ्गो लगाएको होे ।
नेपाली काँग्रेसले गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ। यस्तै, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङलाई मैदानमा उतारेको छ भने नेपाली कम्युनिस्ट पार्टीले हरिजङ तामाङलाई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. धर्म केसीलाई उमेदवारी दिएको छ ।
नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गमप्रसाद गुरुङ पार्टीको तल्लो तहदेखि सक्रिय रहँदै आएका नेता हुन्। संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा काँग्रेसको आधार बलियो बनाउन उनले निरन्तर योगदान पु¥याउँदै आएका छन्। सरल स्वभाव र जनसम्पर्कमा सक्रिय गुरुङ पार्टीभित्र भरोसायोग्य नेताका रूपमा चिनिन्छन्।
नेकपा एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय स्तरमै परिचित नेता हुन्। पूर्वमुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको नेतृत्व गरिसकेका गुरुङले नीति निर्माण, पूर्वाधार विकास र प्रशासनिक अनुभव सँगालेका छन्। पार्टीभित्र निर्णायक भूमिकामा रहँदै आएका उनी लमजुङको विकाससँग प्रत्यक्ष जोडिएका नेताका रूपमा एमाले कार्यकर्तामाझ लोकप्रिय छन्।
त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका हरिजङ तामाङ लामो समयदेखि वाम आन्दोलनमा सक्रिय छन्। श्रमिक, किसान र निम्न वर्गका मुद्दा उठाउँदै आएका तामाङ पार्टी संगठन निर्माण, जनसंघर्ष र राजनीतिक चेतना अभिवृद्धिमा योगदान पु¥याउँदै आएका नेता हुन्। उनी परिवर्तन र सामाजिक न्यायको एजेन्डासहित मैदानमा उत्रिएका छन्।
अर्का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई. धर्म केसी पेशागत इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्ति हुन्। विकास निर्माण, पारदर्शिता र जवाफदेहिता उनका मुख्य एजेन्डा हुन्। कुनै दलको प्रभावबिनै जनताको प्रत्यक्ष आवाज प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका केसी स्थानीयस्तरमा सचेत नागरिकका रूपमा परिचित छन्।
यी चारै उम्मेदवार फरक विचार, अनुभव र कार्यशैली बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिँदा लमजुङको राजनीतिक बहस थप जीवन्त र अर्थपूर्ण बन्ने अपेक्षा गरिएको छ। जिल्लाबासीको मन जितेर विजयको माला कसले पहिरिन्छ त्यो अव समयले देखाउँने छ ।









