
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ सदरमुकाम बेसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
कार्यालयको उद्घाटन न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।
जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी यादवराज आचार्यका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनका सम्पूर्ण आवश्यक तयारी तथा प्रशासनिक काम औपचारिक रूपमा यही कार्यालयमार्फत सञ्चालन गरिनेछ। उम्मेदवारको उम्मेदवारी दर्ता, कर्मचारी परिचालन, निर्वाचन सामग्रीको व्यवस्थापन तथा भण्डारण, मतदान र मतगणना लगायतका सम्पूर्ण कार्य यही कार्यालयबाट गरिनेछ।
प्रमुख जिल्ला अधिकारी उमेश ढुंगानाले निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सबै सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार निर्वाचनलाई लक्षित गर्दै एकीकृत सुरक्षा योजना तयार पारिएको छ।
सुरक्षा समितिको विश्लेषण अनुसार लमजुङमा रहेका १ सय ३० मतदानस्थलअन्तर्गत १ सय ५६ मतदान केन्द्र मध्ये ३० मतदानस्थल अति संवेदनशील, ३७ संवेदनशील र ३३ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूलाई तीन वर्गमा विभाजन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैगरी, लमजुङ जिल्लामा कुल १ लाख ३ हजार १२५ जना मतदाता रहेका छन्। जसमध्ये महिला मतदाता ५१ हजार ५ सय २५ र पुरुष मतदाता ५१ हजार ६ सय जना रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या ३ हजार ४ सय ७ जनाले वृद्धि भएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।









