
काषाय वस्त्रमा सजिएका भिक्षुहरू । हातमा लामो लट्ठी, दायाँ–बायाँ काँधमा भिरेका झोली भिरेका भिक्षुहरूको लस्कर, साथमा एउटा कुकुर न त कुनै नारा, भाषण वा होहल्ला नै । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ ।
उनीहरू धर्मको प्रचार गर्न वा धर्मको विरोध गर्न पदयात्रामा निस्केका होइनन् । भिक्षुहरूको भनाइ छ, ‘यो आत्मचिन्तन र करुणाको सन्देश बोकेको ध्यान हो ।’
यो कुनै सामान्य पदयात्रा होइन, यो त अशान्त बन्दै गएको विश्व र विभाजित समाजमा ‘शान्ति, सचेतना र करुणा’ को बीउ रोप्ने एउटा आध्यात्मिक अनुष्ठान हो । टेक्सासको फोर्ट वर्थस्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट गत अक्टोबर २६ मा सुरु भएको यो ‘शान्ति पदयात्रा’ (वाक फर पिस) २३ सय माइल (३७ सय किलोमिटर) लामो छ । गन्तव्य–वासिङ्टन डी.सी । यात्राको अन्त्य फेब्रुअरीको मध्यतिर हुने अनुमान छ ।
यो यात्राको भिक्षु पन्नाकाराले नेतृत्व गरिरहेका छन् । उनी नांगो खुट्टामै हिँड्छन् । बाटोका ढुंगा, किला, सिसा र तातो कालोपत्र सडकले उनका खुट्टामा चोट लागेका छन् । तर उनी भन्छन्, ‘पीडाभन्दा माथि शान्तिप्रतिको चेतना हो ।’
‘आलोका’ नामक कुकुरसहितको यो मौन यात्रा सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बनेको छ र लाखौं मानिसले यसलाई आशाको किरणका रूपमा लिएका छन्।
धर्म, राजनीति र विचारधाराले विभाजित अमेरिकामा यो यात्राले सकारात्मक चर्चा मात्र होइन, केही आलोचना पनि खेपेको छ, तर भिक्षुहरूले आफ्नो उद्देश्य शान्ति र आत्मचिन्तन मात्र भएको स्पष्ट पारेका छन्।
यात्रा सुरु गर्नुअघि उनीहरूले आधिकारिक सामाजिक सञ्जालमा ‘शान्ति फैल्याउन’ का लागि लेखेका थिए । ‘शान्तिका लागि पदयात्रा एउटा सहज तर अर्थपूर्ण सम्झना हो । जसले हामी प्रत्येकभित्र आफ्नो परिवार, समुदाय, समाजमा एकता र करुणाभाव फैल्याउन सक्छ ।’
सामाजिक सञ्जालमा उनीहरूले दिएको जानकारीअनुसार उनीहरू दिनभर हिँड्छन् । बाटोमा भेटिएका मान्छेहरूसँग गफ गर्छन् । राति कहिले खुला आकाशमुनि टेन्टमा सुत्छन् । कहिले चर्चको आँगनमा, कहिले किसानको खेत त कहिले पार्कहरूमा ।
उनीहरू जहाँ पुग्छन्, त्यहाँ मानिसहरू आफैं आइपुग्छन् । कतिपयको हातमा फूल हुन्छ त कतिपय खाना लिएर आउँछन् । उनीहरूको छेउ पुगेका कतिपय रोइरहेका हुन्छन् त कतिले उनीहरूसँगै हिँडेर हौसला थप्छन् ।
अमेरिकामा भियतनामी बौद्ध भिक्षुहरूको नेतृत्वमा भइरहेको ३७ सय किलोमिटर लामो शान्ति पदयात्राले समाजमा शान्ति, करुणा र सचेतनाको सन्देश फैलाइरहेको छ।









