३३ औँ त्रिवेणी कपमा टिकटबाट ३६ लाख बढी आम्दानी

-


     नयाँ दीप    
     माघ १ गते २०८२ मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरमा हालै सम्पन्न ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा टिकट बिक्रिबाट ३६ लाख बढी आम्दानी भएको छ । पुस १२ देखि २१ गते सम्म सञ्चालन भएको त्रिवेणी कप प्रतियोगितामा टिकट विक्रिबाट मात्रै ३६ लाख १६ हजार तीनसय रुपैया आम्दानी भएको हो ।

त्रिवेणी युवा क्लवले आयोजना गरेको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगितामा यसवर्ष २० हजार ९ सय ३६ टिकट बिक्री भएको क्लवले जनाएको छ ।

पुस १२ गते प्रतियोगिता उद्घाटनको दिन प्रवेश निशुल्क गरिएको थियो भने १३ गतेदेखि २१ गतेसम्म प्रवेश शुल्क तोकिएको थियो । खेल अवधिभरमा सवैभन्दा धेरै फाइनल खेलको दिन पुस २१ गते ४ हजार ३ सय ४७ टिकट विक्रि भएको क्लवले जनाएको छ । जसबाट ८ लाख ६९ हजार चार सय रुपैया आम्दानी भएको छ ।

बेसीशहर ७ सहजीमा अवस्थित खेल मैदानमा करिव २५ सय दर्शक क्षमताको स्थायी प्यारफिट रहेको छ भने खेल अवधिभर स्थायी र अस्थायी प्याराफिट टिकट बाहेक पनि खेल हेर्न प्याराफिट क्षेत्र बाहिर हजारौं दर्शकको उपस्थिती रहेको थियो । क्लवले क्वाटरफाइनल खेल सम्म प्रति टिकट शुल्क १ सय ५० र सेमिफाइनाल देखि फाइनल सम्म १९, २० र २१ गतेको प्रति टिकट शुल्क २ सय रुपैया कायम गरेको थियो ।

खेलमैदानलाई व्यवस्थित वनाउन क्लव निरन्तर लागिपरे पनि त्रिवेणी कप ३३ औं संस्करणमा आईपुग्दा पनि आवश्यक संरचनाको अभाव झेल्नुपर्ने अवस्था कायमै रहेको त्रिवेणी युवा क्लवले जनाएको छ ।