
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा रक क्लाइम्बिङका थप रुट खोज्ने कार्य सुरु गरिएको छ । ऐतिहासिक तथा साहसिक सम्भावना बोकेको च्याम्चेको तारे भीरमा साहसिक खेल रक क्लाइम्बिङका लागि विकास गर्न थप रुट खोज्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो ।
प्राकृतिक बनावट, चुनौतीपूर्ण चट्टान र अद्भुत दृश्यले भरिएको तारे भीरलाई रक क्लाइम्बिङको केन्द्र (Rock Climbing Center) का रूपमा विकास गर्ने लक्ष्य सहित यो अभियान अघि बढाइएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले तारे भीरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनिने साहसिक खेल पर्यटनको गन्तव्य बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, यस क्षेत्रको समुचित प्रवद्र्धन गर्न सके युवा रोजगारी, स्थानीय आयआर्जन र पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ ।
यस अभियानका क्रममा सोमबार स्थानीय आमा समूह तथा स्थानीयवासीहरूले ५ सदस्यीय प्राविधिक टोलीलाई लालुपाते फूल, टीका र शुभेच्छासहित सफलताको कामना गरेका छन् । स्थानीयको आत्मीयता, सहभागिता र समर्थनले यो अभियानलाई अझ ऊर्जा र उत्साह थपको स्थानीय प्रदिप गुरुङले बताउनुभयो ।
आगामी दिनमा रक क्लाइम्बिङ, एडभेन्चर टुरिजम, प्रशिक्षण केन्द्र र प्रतियोगितासम्म विस्तार गर्न सकिने यो स्थानले मर्स्याङ्दी गाउँपालिकालाई साहसिक पर्यटनको नक्सामा मजबुत रूपमा स्थापित गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।









