मानवसेवा आश्रमद्धारा १ सय ४० जनाको सडकबाट उद्धार,

-


     भरत बाबु घिमिरे     
     पौष २४ गते २०८२ मा प्रकाशित


मानवसेवा आश्रम बेसीशहरले स्थापना काल देखि हालसम्म १ सय ४० जनाको सडकबाट उद्धार गरेको छ । विहिबार लमजुङको बेसीशहरमा आश्रमको बार्षिक आयव्यय प्रस्तुत कार्यक्रममा संस्था स्थापना काल २०७३ चैत २१ गतेदेखि सडकमा आश्रित रहेका ८१ जना पुरुष र ५९ जना महिलाको उद्धार गरेको जनाएको हो ।

कार्यक्रममा मानवसेवा आश्रम लमजुङ शाखाका प्रमुख अनिता अधिकारीले संस्थाको आर्थिक वर्ष ०८१⁄०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सडकबाट उद्धार गरिएका व्यक्तिहरु मध्ये ५८ जनालाई पारिवारिक पुनर्मिलन गरिएको, २१ जनाको स्वर्गारोहण भएको, ५२ जनाले स्वच्छाले आश्रम छाडेको, ९ जनालाई पुन उद्धार गरिएको, ११ जनालाई आन्तरिक स्थानान्तरण गरिएको र १ जनालाई बाह्य स्थानान्तरण गरिएको बताउनुभयो ।

आश्रममा हाल १ जना बालिका सहित र १८ देखि ६० वर्ष माथिका २२ जना रहनुभएको छ । जसमा नियमित मानसिक रोगको औषधी सेवन गर्नेको संख्या १९ रहेको छ भने दीर्घ रोगका विरामी भई नियमित औषधी सेवन गर्नको संख्या २ जना रहेको छ ।
आश्रममा रहेका व्यक्तिहरु मध्ये पूर्ण रुपमा अपाङ्ग १ जना, शारीरिक रुपमा भिन्न क्षमता भएका ४ जना र भाषिक अपांगता भएकोको संख्या ३ जना रहेको छ ।

यो वर्ष मात्रै विभिन्न ठाउँबाट १७ जनाको सडकबाट उद्धार गरिएको बताइएको छ ।

विभिन्न चन्दादाता र सहयोगीहरुबाट आश्रम सञ्चालनमा रहेको कार्यक्रममा बताइएको थियो । आश्रमका लागि बार्षिक भोजनसेवा सदस्य २ जना, आजिवन सदस्य १७ जना र मासिक सहयोगिदाता १ सय ६ जना रहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमाङ सिंह अर्याल प्रमुख अतिथी रहनुभएको थियो भने विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६९ साल भाद्रको १३ गतेबाट मकवानपुरको हेटौंडाबाट मानवसेवाको सुरु भएको थियो भने ०७२ सालबाट देशका विभिन्न ठाउँमा सुरु गरिएको मानव सेवा आश्रम हाल २१ जिल्लामा रहेको र २ हजार भन्दा बढी व्यक्तिहरु आश्रित रहेको बताइएको छ । २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने र घोषणा गर्ने मानव सेवा आश्रमको लक्ष्य रहेको छ ।