३३ औँ त्रिवेणी कपमा ए.पि.एफ फाईनलमा प्रवेश

-


     सृजना बराल    
     पौष १९ गते २०८२ मा प्रकाशित


गत पुस १२ गतेबाट लमजुङको बेसीशहरमा सुरु भएको ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा एपिएफ फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । बेंसीसहरको सहजीस्थित खेल मैदानमा शनिबार सम्पन्न सेमिफाइनलमा एपीएफले लमजुङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै एपिएफ फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो ।

निर्धारित समय दुवै तर्फबाट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । थप १०–१० मिनेटको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

खेलको पहिलो हाफको ४१ औं मिनेटमा मस्र्याङ्दीका विदेशी खेलाडी ओलावले अफिजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेट सकिन केही सेकेन्ड बाँकी रहँदा एपीएफका मानबहादुर रानाले गोल गरेपछि बराबरी बनाएका थिए । सेमिफाइनल खेलको एपिएफका गोल रक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

आइतबारको सेमिफाइनल खेल ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र घरेलु टोली लाङ्दीदेवी नाल्माबीच दिउँसो १ बजे हुने छ । अब उपाधिका लागि एपीएफले यी दुई टिमबाट आएका विजेतासगँ सोमबार दिउँसो १ बजे फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५्⁄२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।