
एचडिसियस नमुना सामुदायिक अस्पतालले सेवा शुरु गरेको तीन वर्ष पुरा भएको छ । अस्पतालले सेवाको तीन वर्ष पुगेको अवसरमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालको प्रगति र योजना सार्वजनिक गरेको छ ।
सुन्दरबजार नगरपालिका भित्र क्षेत्रमा एउटा स्तरीय अस्पतालको आवश्यकता देखेर तीन वर्ष अघि एच.डि.सि.यस.ले ३० वर्षका लागि सम्झौता गरेको थियो । एच.डि.सि.यस.ले सञ्चालन गर्न थालेपछि राइनास, सुन्दरबजार र भानु नगरपालिकामा भएका सवारी दुर्घटनामा परेका ३५ जना घाइतेलाई सफल उपचार गरेको छ ।

वितेका तीन वर्षमा अस्पतालले गरेका प्रगति अनुसार बहिरंग सेवामा पहिलो वर्ष १४ हजार ३ सय ६८ जना, दोस्रो वर्ष १६ हजार ४९ जना र तेस्रो वर्ष १८ हजार ४ सय ३३ जनालाई सेवा दिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । ल्यावतर्फ पहिलो वर्ष ६ हजार ९ सय १ जना, दोस्रो वर्ष ७ हजार ५ सय ३४ जना र ७ हजार १ सय ६६ जना गरी जम्मा २१ हजार ६ सय १ जनालाई सेवा प्रदान गरेको छ ।
एक्सरे सेवातर्फ पहिलो वर्ष ३ हजार ५ सय २९ जना, दोस्रो वर्ष ३ हजार ६ सय २८ जना र तेस्रो वर्ष ३ हजार ४ सय ८९ जनालाई सेवा दिएको छ । त्यस्तै भिडियो एक्सरेतर्फ पहिलो वर्ष २ हजार १ सय ६६ जना, दोस्रो वर्ष २ हजार ७६ जना र तेस्रो वर्ष २ हजार ५ सय १० जनालाई सेवा दिएको अस्पतालले बताएको छ ।

हाल दैनिक ६०\७० जना ओपिडी जाँच गर्न आएका छन् भने ७\८ जना विरामी भर्ना हुने गरेको अस्पताल निर्देशक हेमन्त श्रेष्ठले बताउनुभयो । चार जना कन्सल्टेन्ट डाक्टर सहित ४० जना स्टाफ कार्यरत रहेको पनि श्रेष्ठले जानकारी दिनु भयो । अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा, डेण्टल, ल्याव परिक्षण सेवा, एक्सरे, आकस्मिक सेवा, भिडियो एक्सरे सेवा, ईसिजी, मनोविमर्श सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मनोपरामर्शदाता शोभा ठकुरी, स्त्रीरोग विशेषज्ञ डा विजय शाह, डेण्टल सर्जन कञ्चन यादव जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।









