प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

-


     नयाँ दीप    
     पौष ८ गते २०८२ मा प्रकाशित


लमजुङको दोर्दी गाउँपालिकाको नौथर शेराबजारमा पहिलोपटक दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको मगंलबार एक समारोहका विच दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, लगायतको उपस्थिती रहेको थियो ।

दोर्दी गाउँपालिकाको कृषि तथा पर्यटनको विकास, आन्तरिक व्यापार, लोककला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन भन्ने नाराका साथ गाउँपालिकाको आयोजनामा पुस ८ देखि १० गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो।

दोर्दी गाउँपालिकाको आयोजनामा सुरु महोत्सवमा कृषि मेला प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, गाउँपालिका स्तरीय फुटवल प्रतियोगिता, सांस्कृतिक झाँकी तथा लोकनृत्य प्रस्तुत, आमासमुह विच खुला नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति, रैथाने कृषि उत्पादनका परिकार तथा कृषि उपजको बजारीकरण स्टल लगायतका कृयाकलापहरुको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारले बताउनुभयो ।

दोर्दीको पर्यटकीय संभावनाको प्रचारप्रसार गर्ने, स्थानीय कृषिजन्य उत्पादन तथा प्रविधिको प्रदर्शनी मार्फत् कृषि व्यवसाय प्रवद्र्धन गर्ने, लोककला, लोकनृत्य तथा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने, खेलकुद मार्फत् युवामा अनुशासन, नेतृत्व र आपसी सदभाव विकास गर्ने, उत्कृष्ट कृषकलाई सम्मान गरि कृषकको मनोवल अभिवृद्धि गर्ने, आन्तरिक व्यापार तथा स्थानीय उद्यमलाई बजार पहुँच प्रदान गर्ने र नियमित हाटबजारको सुरुवात गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए।

महोत्सव सञ्चालनबाट पालिकाको पर्यटन, कृषि र संस्कृतिको व्यापक प्रचार हुने, कृषक, युवा, महिला समुह र स्थानीय प्रतिभाको सकृयता वृद्धि हुने, स्थानीय उत्पादनको बजारीकरण र आन्तरिक व्यापार प्रवद्र्धन हुने र खेलप्रेमी खेलाडीहरुको पहिचान गरि प्रोत्साहन जस्ता उपलव्धी प्राप्त हुने बताए। महोत्सवकै अवसरमा ग्रामिण पर्यटन र होमस्टे पर्यटन प्रवद्र्धन र व्यवसायीकरण गर्न ३ दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण गराईने भएको छ। दोर्दीमा हाल ५ वटा होमस्टे व्यवसायिक रुपमा सञ्चालनमा रहेका छन्।

महोत्सव सुरु हुनु भन्दा पहिला बाजागाजा सहितको झाँकी र्याली निकालिएको थियो ।