सिङ्दीमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर

-


     नयाँ दीप    
     पौष ६ गते २०८२ मा प्रकाशित


लमजुङको क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीमा आईतबारदेखि मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । मुटु फाउन्डेशन नेपाल र मनोज एसोसिएसन फ्रान्सको व्यवस्थापन र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गाउँपालिकाले मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो ।

मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामी छनौटका लागि क्व्होलासोथार गाउँपालिकाले वडा नं. ७ र ८ मा शुक्रबार साथै वडा नं. ६ मा शनिबार स्क्रीनिङ गरिएको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीमा सञ्चालित शिविरको आइतबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले दूरदराजका नागरिकलाई गाउँमै सेवा प्रदान गर्न सिङ्दीमा मोतिबिन्दूको शल्यक्रिया शिविर सञ्चालन गरिएको बताउनुभयो ।

क्व्होलासोथार गाउँपालिका ५ का वडाअध्यक्ष गीतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, मुटु फाउन्डेशनका अध्यक्ष धनबहादुर गुरुङ ,हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगी लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र सिङ्दीका प्रमुख बिन्तीमाया गुरुङले गर्नुभएको थियो ।

शिविरको पहिलो दिन ३ सय ५५ जनाले सेवा लिएका छन् । पहिलो दिन वडा नं ६, ७ र ८ का २८ जनाको मोतिबिन्दूको शल्यक्रिया गरिएको छ । शिविरमा २ सय १७ वटा चश्मा, औषधी लगायत वितरण गरिएको छ ।

सोमबारसम्म सञ्चालन हुने शिविरमा हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. नारायणी रोक्का भट्टराईसहित प्राविधिक टीम र क्व्होलासोथार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, राजु परियार, दिनेश विक, सल्मेभञ्ज्याङ स्वास्थ्य चौकी गिलुङका प्रमुख सन्तोष सुवेदी, पसगाउँ स्वास्थ्य चौकी प्रमुख मिलन रावत, घाम्राङ आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख गोपिनी गुरुङलगायत खटिएका छन् ।