
फाइल फोटो
यसबर्ष हुने ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीताको तयारीलाई तिब्र बनाइएको छ । आगामी पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यतिवेला सहजी स्थित खेलकुद मैदान सम्याउने, सरसफाई गर्ने, आर्थिक सहयोग संकलन गर्ने, प्रचारप्रसार गर्ने लगायतका कार्यहरु भै रहेका छन् ।
यो वर्ष त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब भुजुङ, ठडाराई अधिकारी समाज दिहीथोक, सूर्यपुर फुटबल क्लब चितवन, चक्रपथ युथ क्लब काठमाडौं, रोड्स रामपुर फुटबल क्लब रामपुर चितवन र समाज कल्याण युवा क्लब काठमाडौंले खेल्नेछन् ।
त्यस्तैगरी प्रतियोगितामा काठमाडौंस्थित चित्लाङ फुटबल क्लब, न्यूरोड फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, विभागीय टीम एपीएफ, सातदोबाटो फुटबल क्लब र टोखा भगवती फुटबल क्लब आमन्त्रित रहने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष टेकजंग गुरुङले बताउनुभयो ।
सहजी खेलमैदानमा हुने प्रतियोगितामा विजेताले १२ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५\२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलका म्याद अफ दि म्याचलाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा गतवर्ष सेमीफाइनलमा पराजित २ टीमलाई २\२ लाख रुपैयाँ दिँदै आएकोमा यसवर्षदेखि उक्त व्यवस्था हटाइएको आयोजक जनाएको छ ।
क्लवले तमु ल्होसारको अवसरमा पुस १५ गते विविध कार्यक्रमको साथमा त्रिवेणी साँझको समेत आयोजना गरेको छ । फुटवल प्रतियोगिता र त्रिवेणी साँझ समेत सञ्चालनका लागि १ करोड ३२ लाख ३५ हजार रुपैयाँ लाग्ने अनुमान क्लबले गरेको छ ।









