
लमजुङमा भालुको आक्रमणबाट एक जना बृद्ध गम्भीर घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिका–६, नाइचेमा भालुले आक्रमण गर्दा नाइचे निवासी ७८ बर्षीय प्रेम बहादुर गुरुङ गम्भीर घाइते भएका हुन् ।
गाउँनजिकै भैसी गोठ सञ्चालन गर्दै आएका गुरुङ बिहिबार बिहान ९ बजेतिर जङ्गलबाट घाँस बोकेर फर्कने क्रममा गाउँ नजिकै उइडो खोलामा भालुले आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।
भालुको आक्रमणबाट गुरुङको दाहिने कानमा गहिरो चोट लागेको छ । गम्भीर घाइते गुरुङलाई तत्काल उपचारका लागी प्रदेश अस्पताल लमजुङ ल्याइएको र अवस्था गम्भिर भएका कारण थप उपचारको लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।









