
१७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेसीशहर नगरपालिका प्रथम हुन सफल भएको छ । मस्र्याङदी गाउँपालिकामा सोमबार सम्पन्न खेलमा बेसीशहर नगरपालिकाले प्रथम हुँदै शिल्ड उचालेको हो ।
बेसीशहर नगरपालिकाबाट सहभागि खेलाडिहरुले १६ स्वर्ण, ८ रजत, ६ कास्य पदक प्राप्त गर्दै प्रथम भएका हुन् । त्यस्तैगरी ८ स्वर्ण, ११ रजत र ११ कास्य पदक प्राप्त गरी राइनास नगरपालिका द्धितीय भएको छ भने ६ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरी मध्यनेपाल नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ ।
“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराको साथ जिल्ला खेलकुद विकास समिति लमजुङद्वारा आयोजित १७ औं लमजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को समापन तथा पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको थियो भने मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङ कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो ।
समापन समारोहका प्रमुख अतिथि गुरूङले खेलकुदले समाजमा एकता, अनुशासन र राष्ट्रिय गौरव बढाउने उल्लेख गर्दै विजयी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं–७ का अध्यक्ष तिलबहादुर गुरूङ, वडा नं–६ का अध्यक्ष मिनराशी गुरूङ, वेसीशहर नगरपालिका प्रवक्ता तथा कार्यपालिका सदस्य हिरालाल विक, खेलकुद विकास समितिका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा सातै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति लमजुङका कोषाध्यक्ष रवि थापाले सञ्चालन गर्नुभएको थियो । सो अवसरमा आगामी वर्ष हुने १८ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुन्दरबजार नगरपालिकामा आयोजना हुने औपचारिक जानकारी समेत गराइएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अमृता घिमिरेले बताउनुभयो ।









