राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशमा नयाँ समिति

-


     नयाँ दीप    
     मंसिर २२ गते २०८२ मा प्रकाशित


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं बार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनबाट स्याङ्जाकी माया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल कास्की, प्रथम उपाध्यक्षमा आरसी पौडेल पर्वत, द्वितिय उपाध्यक्षमा होम गुरुङ गोरखा, महिला उपाध्यक्षमा मञ्जु विक लमजुङ निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा निर्वाचित मञ्जु विक

समितिको कोषाध्यक्षमा सविना गुरुङ कास्की, सचिव कृष्ण सुवेदी पर्वत, महिला सचिव सुनिता नेपाली स्याङ्जा, सहसचिव टेक क्षेत्री कास्की, सहकोषाध्यक्षमा सपना परियार नवलपुर र अन्य सदस्यहरु रहेका छन्।

अधिवेशनका क्रममा नेतृत्व चयनका लागि सहमतिको प्रयासबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति जुटाईएको थियो भने प्रथम उपाध्यक्ष, महिला उपाध्यक्ष र सहकोषाध्यक्षमा मात्रै निर्वाचन गराईएको थियो।

मतदानमा गएपछि कूल एकसय ७९ खसेकोमा महिला उपाध्यक्षमा चर्चित गायिका लमजुङकी मञ्जु विकको पक्षमा एकसय ६२ मत खसेको थियो। यसपटक प्रदेश समितिको अध्यक्षको जिम्मेवारी लिन सबै तरहले तयार रहेकी मञ्जुको पक्षमा सहमति नजुट्नु र निर्वाचनबाट सर्वाधिक मतका साथ विजयी हुनुले प्रतिष्ठानमा उनको उपस्थिती बलियो रहेको प्रमाणित भएको छ।