स्थानीयको बिरोधपछि मर्स्याङ्दी बेसी निर्माणको काम बन्द

-


     सृजना बराल     
     मंसिर ५ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा निर्माण गर्न लागिएको ५० मेगावाटको दिव्यज्योती हाइड्रोपावर आयोजनाको काम स्थानीयको बिरोधका कारण बन्द गरिएको छ । सम्पूर्ण तयारी पुरा गरी मंसिर ५ गतेदेखि निर्माण कार्य सुरु गर्ने तयारी गरेको आयोजनाले बेसीशहरका स्थानीयले विरोध गरेपछि तत्कालका लागि निर्माण कार्य बन्द गरेको हो ।

मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको बेलौती बिसौनामा जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको थियो ।

यता बेसीशहरका नगरबासीले स्थानीयसगँ कुनै पनि अनुमती तथा सल्लाह विना लमजुङको सदरमुकामको मुख्य बजार बेसीशरहलाई नै असर पर्ने गरी आयोजना निमार्ण लागिएको भन्दै आयोजना बन्न नदिने भन्दै व्यापक विरोध गरेका छन् । विरोध स्वप विहिबार बेसीशहर बजारमा विरोध ¥यालीको आयोजना गरिएको थियो भने हस्ताक्षर अभियान समेत चलाइएको छ ।

बेसीशहर क्षेत्रको भुगोल समेत कमजोर भएको हुँदा भौतिक प्रभाव र त्यसले प्राकृतिक प्रकोपहरु निम्त्याउन सक्ने र मर्स्याङदी नदी थुनेर विद्युत गृह बनाउँदा बेसीशहरको सौन्दर्य हराउनुका साथ जैविक विविधतामा, धार्मिक तथा सांस्कृतिक प्रभाव पर्ने बेसीशहरबासीको भनाई छ । त्यसैले कुनै पनि अवस्थामा आयोजना बन्न नदिने मस्र्याङदी बचाऔं अभियानका संयोजक रामबहादुर थापाले बताउनुभयो ।

०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात ०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो ।

करिब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी लगानी प्रवद्र्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकहरूबाट प्रवाह हुने छ । आयोजनाबाट साढे दुई वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको उदिपुर सबस्टेसनमा जोडिने छ ।

आयोजनाको वातावरणीय, सामाजिक, सांस्कृतिक लगायत पक्षको गहन अध्ययन गरिएको हुँदा प्रभावित क्षेत्रहरू स्पष्टरूपमा किटान भएको र ती क्षेत्रमा पर्ने असरको रोकथाम एवम् न्यूनीकरण गर्ने कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।