पटक पटक भत्किएर जोखिम हुदैँ लमजुङ कारागार

-


     सृजना बराल     
     श्रावण ६ गते २०८२ मा प्रकाशित


लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार मर्मतका लागि नापजाँच सुरु भएको छ । सङ्घिय सहरी विकास तथा भवन निर्माण कार्यालयकोले कारागार मर्मतको लागि नापजाँच सुरु गरेको छ । आइतबार भवन निर्माण कार्यालय पोखराबाट आएका प्राविधिकहरुको टोलीले कारागार परिषर भित्र र बाहिर नापजाँच गरेको छ ।

नापजाँच पछि यो पुरानो भवनलाई नै मर्मत गर्ने कि नयाँ भवन निमार्ण गर्ने भन्ने विषयमा १५ दिन भित्र रिर्पोट तयार हुने र त्यही अनुनरुप कार्य अघि बढ्ने कारागार प्रशासन प्रमुख बेनीबहादुर मोक्तानले बताउनुभयो । ५४ वर्ष अघि सालमा ढुगां र माटोबाट बनाइएको कारागार भवन निकै जिर्ण भएको र विगतमा पनि पटक पटक भत्किने गरेकोले जोखिम निकै भएका कारण पनि मर्मत भन्दा पनि नयाँ भवन बनाउन आवश्यक रहेको बताइएको छ ।

असार गत ३२ गते बुधबार गेटसँगैको पर्खाल भत्किएपछि सम्भावित भौतिक तथा मानबिय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका १ सय २ जना पुरुष र ६ जना महिला थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको हो ।

शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको छ ।

लमजुङका कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार करिब ३ मिटर पर्खाल भत्किएको छ । जिल्ला कारागार लमजुङमा १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको क्षमता भए पनि यतिखेर तेब्बर भन्दा बढी १०८ जना कैदी र थुनुवाहरु रहेका छन् । साँघुरो भवन भित्र क्षमता भन्दा तेब्बर कैदीवन्दी राख्दा शैचालय, खानेपानी, खेल मैदान र अन्य कामकाजका लागि पनि निकै साघुँरो भई समस्या हुने गरेको कारागार प्रमुख मोक्तानको भनाई छ ।

विस २०२८ सालमा कुन्छाबाट सदरमुकाम सरेर बेंसीसहर आएको समयमा नै निर्माण गरिएको यस कारागारको समय समयमा मर्मत सम्भार गरिएको भए पनि हालसम्म पूर्णरूपमा मर्मत सम्भार हुन सकेको थिएन । विगतका वर्षमा पनि कारागारको पर्खालको केहि भाग भत्किने गरेको थियो । यो पटक पनि नयाँ भवन निमार्ण भन्दा पनि भत्किएको ठाउँमा नै मर्मत गरी काम चलाउने प्रकृया अघि बढेको देखिन्छ ।