
राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताउनुभएको छ ।
राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गर्नुभएको हो ।
“प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
विगतमा तत्कालिन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै विर्सन हुन्न भन्नुभयो । “जहाँनिया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, समाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष अनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
“कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी एउटा गण्डकी साहित्य सर्कल ( चक्र) निर्माणको लागि म आग्रह गर्दछु”, उहाँले भन्नुभयो । साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उहाँले आव्हान गर्नुभयो ।
राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रुपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज भएको उहाँको भनाई थियो ।
“गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषासाहित्यलाई युगिन बाटोतर्फ डो¥याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उहाँले यहीे सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभएको धारणा व्यक्त गर्नुभयो ।
“यहाँको सुरम्य पहाडी, हिमाली र ग्रामिण जनजीवनको धुकधुकीलाई टपक्क टिपेर आफ्ना कैयौ गीत, कविता, खण्डकाव्य, गीतीनाटकसहितका कालजयी रचना सृजना गर्ने राष्ट्रकवि घिमिरेको वैशिष्ट्यताले नेपाली साहित्यजगतलाई महत्वपूर्ण योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँका साहित्यिक सृजनामा हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ भन्दै राष्ट्रपति पौडेलले यसबाट भाषा, साहित्यमात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको बताउनुभयो ।
“नेपाली हामी रहौला कहाँ नेपालै नरहे होस कि गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली त्यसैका प्रमाण हुन्, अझ मानवीय करुणालाई सुक्ष्म संवेदनाका साथ प्रस्तुत गर्न सक्ने उहाँको क्षमता अद्भुत छ, आफ्ना रचनामा मानवीय संवेदना, प्रकृति र देशप्रेमको उज्यालो पक्षलाई जीवन्त प्रस्तुत गर्न सक्ने क्षमताका कारण उहाँ राष्ट्रकविको उचाइ धारण गर्न सफल हुनुभयो भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।









