शिक्षा मन्त्रीको राजीनामासगँ शिक्षक आन्दोलनको कुनै साइनो छैनः सुवेदी

-


     नयाँ दीप    
     वैशाख ८ गते २०८२ मा प्रकाशित


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

शिक्षकहरूको समस्या समाधान गर्दै आन्दोलन टुंग्याउनका लागि भएका वार्ता र छलफलमा प्रधानमन्त्रीले शिक्षामन्त्री भट्टराईलाई ’बाइपास’ गर्दै आएका थिए । शुक्रबार साँझ बालुवाटारमा भएको शिक्षक आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीको छलफलमा पनि शिक्षामन्त्री भट्टराईको उपस्थिती थिएन ।

शिक्षामन्त्री र प्रधानमन्त्रीबीचको चिसोपना सुरुवात भने यसअघिका घटनामै भइसकेको थियो । संसद्को शिक्षा, स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकका पेचिला दफा टुंगो लाग्न सकिरहेको छैनन् । शिक्षामन्त्रीको राजीनामाले यो प्रक्रिया नै थप पेचिलो बन्ने निश्चित छ ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामामा कुनै साइनो नभएको स्पष्ट पारेका छन् ।  आफूहरूले कुनै पदाधिकारी वा मन्त्रीको राजीनामा नमागेकाले शिक्षक आन्दोलनलाई मन्त्रीको राजीनामा कुनै असर नपुर्याउने उनको भनाइ छ । शिक्षकको माग पुरा भनएसम्म आन्दोलन जारी हुने सुवेदीको भनाई छ ।