
काठमाडौँबाट लमजुङको बेशीसहरतर्फ आउँदै गरेको माइक्रो बस र बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेशीसहरबाट डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कुटरमा सवार अनिता थापा श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने माइक्रो बसमा सवार मनाङका एक शिक्षकको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको हो ।
डुम्रे–बेशीसहर सडक खण्ड अन्तर्गत तनहुको भानु नगरपालिका वडा नं. १० कालिमाटीमा भएको उक्त दुर्घटनामा लमजुङ बेशीसहरका स्कूटर चालक सुरेश श्रेष्ठ गम्भीर घाईते छन् भने उनकी श्रीमती थापाको घटनास्थलमै मृत्य भएको जनाइएको छ ।
माइक्रोमा सबार अर्का व्यक्ति मनाङ नासोङ गाउँपालिका वडा नं ८ का मन घलेको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जानकारी दिएको छ। मृत्यु हुने मन घले काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कदै थिए। उनी मनाङको नाँसो ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
माइक्रोबसमा सवार १७ जनामध्ये दुई जनालाई पोखरा र एक जनालाई चितवन रिफर गरिएको छ। अन्य ७ जनाको लमजुङको भोटेओडार अस्पतालमा उपचार पछि विभिन्न स्थानमा थप उपचारको लागि पठाइएको छ ।
माइक्रोबसका चालकलाई इलाका प्रहरी कार्यालय बाईसजागरले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









