गाउँशहरमा बृहत चैते दशैं मेलाको आयोजना

-


     भरत बाबु घिमिरे    
     चैत्र २१ गते २०८१ मा प्रकाशित


चैत २३ गते परेको चैतेदशैंको अवसरमा ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको लमजुङको गाउँशहरमा चैते दशैंको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ।

लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व र जोगाउँदै गाउँशहर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी देश विदेशमा चिनाउन चैतेदशैं मेलाका साथ सांस्कृतिक उत्सव आयोजना गरिएको हो ।

चैत दशैंको अवसरमा आयोजना गरिएको फूटवल प्रतियोगितामा विहिबार भएको फाइनल खेलमा आयोजक कालिका युवा क्लव गाउँशहर प्रथम भएको छ भने युग परिवर्तनशिल युवा क्लव दोस्रो भएको छ । फुटवल प्रतियोगितामा वडा भित्रका ९ टिम सहभागी भएका थिए ।

चैतेदेशैं मेला अन्तर्गत सांस्कृतिक झाँकी, छेलो प्रतियोगिता, लोक स्वर सम्राट राजु परियार, चर्चित लोक गायिका आशा वि.सी लगायत ख्यातिप्राप्त कलाकाहरुको सांगीतिक कायत्र्रmम तय गरिनुएको छ ।


शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।

कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशोब्रह्म शाहको शालिक, कसुण्डे ओडार, पुरानाकोटे गढी, शान्तिस्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय गाउँशहरका अन्य आकर्षक गन्तब्यहरु हुन् ।

गाउँशहर बाईसी, चौबिसी र शाहवंशीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको सुरुवात भएको मानिन्छ । तत्कालीन लमजुङका राजकुमार द्रब्य शाहले लिगलिग हुँदै गोरखा राज्यमा राज्य गरेका र उनका बंशज पृथ्वीनारायण शाहले गोरखाबाट नेपालको एकीकरण अभियान शुरु गरी कालान्तरमा विशाल नेपालको निर्माण सम्भव भएको थियो ।

६ औं सताब्दीमा चौविसे राज्य अन्तर्गत पर्ने लमजुङ राज्यका दरबारका भग्नावशेष र जीर्णअवस्थामा रहेको कोट अझै पनि गाउँशहरको सिरानामा पर्ने गढी (पुरानोकोट)मा देख्न सकिन्छ ।

गाउशँहर प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ हो । यहाँबाट माछापुच्छ्रे अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक २९, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् । गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मर्स्याङ्दी नदी र सुन्दर बेसीशहर बजार दृष्यावलोकन गर्न सकिन्छ ।
ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, भुजेल, सार्की, दमै, कामी जातिको बसोबास यस क्षेत्रमा छ ।