
लमजुङको क्होलासोथर गाउँपालिकाको घलेगाउँमा आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । अगामी बैशाख १ गतेबाट प्रतियोगिताको बारेमा शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
स्मार्ट भिलेजको रुपमा घोषणा भएको घलेगाउँले ग्रामिण पर्यटनको अवधारणा ल्याई पर्यटन प्रवद्र्धनका रुपमा होमस्टे सुरु गरेको २५ औं वर्ष पूरा गरेको अवसरमा यो वर्ष भव्य रुपमा विषेश कार्यक्रमको आयोजना गरेको जानकारी गराइएको छ ।
बैशाख १ गतेबाट घलेगाउँ ग्रामिण पर्यटन रजत जयन्ती अन्र्तगत फुटवल लगायत विभिन्न सास्कृतिक कार्यक्रम साताव्यापी रुपमा मनाउने योजना बनाइएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।
समुन्द्री सतह देखि २१ सय मिटरको उचाइमा रहेको घलेगाउँमा आयोजना गरिने फुटवल प्रतियोगिता नेपालमा नै पहिलो भएको आयोजकको दावी छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६ लाख ५ सय ५५ रुपैयाँ गोल्ड कप र मेडल प्राप्त गर्नेछन् भने द्धितीय हुने टिमले ३ लाख ५० हजार २ सय ५५ प्राप्त गर्न सक्नेछन् । त्यस्तै सर्बोत्कृट र सर्वाधिक गोलकर्तालाई नगद १०\१० हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्नको लागि ३४ लाख ३१ हजार १ सय १० रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
आमन्त्रित गोल्डकपमा त्रिवेणी युवाक्लव बेसीशहर, बेसीशहर युथ सोसाईटी, नाल्मा ११ र बेसीशहर नगरपालिका ५, विवाईसी भोटेओडार लमजुङ, भूईखेल फुटवल क्लव काठमाडौं, अभिषेक चर्च रजहर, फ्रेन्डसिप युथ क्लव तनहुँ, गुन्नी फुटवल क्लव पोखरा, सीवाईसी नेपाल युनाइटेड तुरतुरे, रोड्स रामपुर चितवन र एन्फा मनाङ सहभागी हुनेछन् ।
संविधान सभाका सदस्य जमिन्द्रमान घले प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा एमाले जिल्ला कार्य समिति लमजुङका अध्यक्ष राजकुमार विष्टको विषेश उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रम घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको थियो भने सचिव उमर विकले सहजिकरण गर्नुभएको थियो ।
२०५६ देखि होमस्टे सुरु गरेको घलेगाउँ २०६४ सालमा दक्षिण एसियाकै नमूना गाउँ सार्क भिलेज घोषणा भयो भने २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँमा १ सय ३० घर मध्ये हाल ४५ घरमा होमस्टे सञ्चालन गरिएको छ ।









