
लमजुङ जिल्लामा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको सुरु भएको छ । मंगलबार सुरु महोत्सवको नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्यालाई हटाएर जनभावनानुसार काम गर्न सकिने र देशमा समृद्धि आउँने मन्त्री गुरुङको दावी थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य टिकाकुमारी बस्याल र यशोदा रिमाल, बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष प्रह्लाद बोहराले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार अनुज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा खेलकुद विकास समिति लमजुङका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । जसमा चन्द्रबहादुर कुँवर, विरबहादुर बोहरा, महेन्द्र शर्र्र्मा पौडेल, रामचन्द्र पौडेल, सुबास पौडेल, गोविन्द बस्नेतलाई सम्मान गरिएको छ । त्यस्तैगरी धर्मराज श्रेष्ठलाई मरणोपरान्त सम्मान पत्रले सम्मान गरिएको थियो ।
महोत्सवको पहिलो दिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजेताहरुलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।
महोत्सव अवधिभर छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा १ करोड ४२ लाख ५० हजारको कारोबार हुने र महोत्सव अवधी १२ दिनसम्म ६ लाख दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ । विभिन्न खालका २ सय स्टल रहने महोत्सवमा जिल्ला भित्रका मात्रै नभई तनहुँ, गोर्खा, कास्की, मनाङ, काठमाडौं पोखरा, चितवन नवलपुर, हेटैंडा लगायतका जिल्लाहरुबाट समेत दर्शक आउने आयोजकको अपेक्षा रहेको छ ।
भलिबल, कराँते, छेलो लगायतका खेल तथा स्थानीय संस्कृतिलाई प्रचारप्रचार गरी युवालाई खेलप्रति आकर्षित गर्दै अनुशासित बनाउने, बढ्दो युवा पलायनलाई रोकेर खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गराउने, महोत्सवको माध्यमबाट जिल्लाको पर्यटन विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने, खेल पूर्वाधारको विकासमा लगानीको वातावतरण बनाउने तथा बेसीशहरको सहजी खेलमैदानको लागि थप जग्गा खरिद गर्ने लगायत महोत्सवको उद्धेश्य रहेको छ ।