
लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो ।
बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।
महोत्सवमा १ करोड ४२ लाख ५० हजारको कारोबार हुने र महोत्सव अवधी १२ दिनसम्म ६ लाख दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ । विभिन्न खालका २ सय स्टल रहने महोत्सवमा जिल्ला भित्रका मात्रै नभई तनहुँ, गोर्खा, कास्की, मनाङ, काठमाडौं पोखरा, चितवन नवलपुर, हेटैंडा लगायतका जिल्लाहरुबाट समेत दर्शक आउने आयोजकको अपेक्षा रहेको छ ।
जिल्लामा विभिन्न समयमा मेला महोत्सव भैरहेको भएपनि यो फरक खालको महोत्सव भएकाले एकै ठाउँमा साँस्कृतिक कार्यक्रम र खेलकुदको मजा लिन पाउने भएकाले पनि दर्शकको उपस्थिती उल्लेख्य हुने कार्यक्रममा बताइएको थियो ।
भलिबल, कराँते, छेलो लगायतका खेल तथा स्थानीय संस्कृतिलाई प्रचारप्रचार गरी युवालाई खेलप्रति आकर्षित गर्दै अनुशासित बनाउने, बढ्दो युवा पलायनलाई रोकेर खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गराउने, महोत्सवको माध्यमबाट जिल्लाको पर्यटन विकास गरी आर्थिक विकासमा टेवा पुराउने, खेल पूर्वाधारको विकासमा लगानीको वातावतरण बनाउने तथा बेसीशहरको सहजी खेलमैदानको लागि थप जग्गा खरिद गर्ने लगायत महोत्सवको उद्धेश्य रहेको छ ।
जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योगबहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा खेलकुद विकास समिति गण्डकी प्रदेशका सदस्य तथा भलिबल संघ लमजुङका अध्यक्ष दिवाकर बराल, लमजुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरत विष्ट, लगायतको उपस्थिती रहेको थियो । बेसीशहर नगरपालिकाका अध्यक्ष सिजन श्रेष्ठले कार्यक्रममा महोत्सवको प्रेस विज्ञप्ती प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समिति लमजुङका कोषाध्यक्ष प्रल्हाद बोहराले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सदस्य राजु अर्यालले सञ्चालन गर्नुभएको थियो ।