
लमजुङ अस्पताललाई गण्डकी प्रदेशकै सुविधा सम्पन्न बनाइने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो । लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार मन्त्री पाठकले यस्तो बताउनु भएको हो ।
प्रदेश अस्प्तालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको मन्त्री पाठकले बताउनुभयो । त्यस्तै लमजुङ अस्पतालका लागि तत्कालै सिटिस्क्यान मेशिनको आवश्यकता खड्किएको प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले बताउनु भयो । यहाँ विशेषज्ञ सेवा थपिए पनि सिटिस्क्यान मेशिन नहुँदा अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको हुँदा यसको व्यवस्था गर्नु पहिलो प्रथामिकता भएको पौडेलको दावी थियो ।
अस्पतालको वार्षिकोत्सव कार्यक्रममा ५ जना उत्कृष्ट कर्मचारी छनौट गरी पुरस्कृत गरिएको छ । यसरी पुरस्कृत हुने कर्मचारीमा स्त्रीरोग विशेषज्ञ डा गोमा रिमाल, इमरजेन्सी इन्चार्ज गणेश गुरुङ, अप्रेशन विभागका कर्मचारी शोभा श्रेष्ठ, अहेव अमृत चिलुवाल र ल्याव इन्चार्ज कुमार बाबु तिवारी उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनु भएको छ ।

यसैगरी शेरमानसिंह अर्याल, हिरा लामालाई पुरानो कर्मचारीको रुपमा सम्मान गरिएको छ । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री मधु अधिकारी, जिल्ला समन्वय प्रमुख पूर्ण बहादुर गुरुङ, बेसीशहर नगर प्रमुख गुमानसिंह अर्याल, स्वास्थ्य निर्देशनालय महानिर्देशक खिम बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङ, नेकपा एमाले जिल्ला अध्यक्ष राजकुमार विष्ट, नेकपा माओवादी केन्द्र सचिव सुनिल सुनार, राप्रपा उपाध्यक्ष ठाकुर प्रसाद गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, नेपाल रेडक्रस सोसाइटीका सभापति ऋषिराम घिमिरे, तमु ह्युल छोँज धिँका अध्यक्ष जिवराज घले लगायतले मन्तव्य राख्नु भएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अस्पताल प्रमुख डा शिशिर देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै समितिका सदस्य दिपक बरालले स्वागत गर्नुभएको थियो भने सदस्य वसन्त बहादुर थापाले सञ्चालन गर्नुभएको थियो ।