निशुल्क पाठेघरको जाँच, महिलाहरुको उल्लेख्य सहभागिता

-


     भरत बाबु घिमिरे    
     भाद्र १५ गते २०८१ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा महिलाहरुको लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण शिविरको आयोजना गरेको छ ।

लमजुङको बेसीशहरमा रहेको मोडल हस्पिटलमा संचालन भएको शिविरमा पहिलो दिन शनिबार जिल्ला भरका १ सय ७० जना महिलाहरुको जाँच गरिएको छ । जसमा ८ जनाको पाठेघरको मुख जाँच भिआइए जाँच गर्दा संकास्पद लागेर एल.वि.सि (प्याप) टेस्टको लागि पाठेघरको मुखको पानी निकालेर परीक्षणको लागि पठाइएको छ भने ब्रेस्ट जाँच गर्दा २ जनाको संकास्पद लागेर थप परीक्षणको लागि पोखरा गण्डकी अस्पताल बोलाईको छ । परीक्षणका क्रममा पाठेघरमा संक्रमण देखिएका महिलाहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो भने जुगाको औषधी परीक्षण गर्न आउने सबैलाई वितरण गरिएको आयोजक त्रिवेणी युवाक्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो ।

२२ देखि ७५ वर्ष उमेर समूह सम्मका महिलाहरु परीक्षणका लागि आए पनि ६० वर्ष सम्मका महिलाहरुका लागि मात्रै पाठेघर जाँच गरिएको डा रुपा पनेरुले बताउनुभयो ।

शिविरमा गण्डकी हस्पिटल पोखराका गाइनोलोजिस्ट डा. रुपा पनेरु, धुलिखेल अस्पतालका डा. क्षितिज चापागाई र नर्स मनिषा हुमागाई लगायत ७ जनाको टिमले सेवा दिएको छ भने रिचा गाजिमाया मेमोरियल फाउन्डेसन धुलिखेलले प्याप टेस्ट गराएको त्रिवेणी युवाक्लवका दिवाकर बरालले बताउनुभयो ।

लमजुङ बेसीशहरको चर्चित क्लव त्रिवेणी युवक्लवको आयोजना तथा धुलिखेल अस्पताल र लमजुङ मोडल अस्पताल बेसीशहरको प्राविधिक सहयोगमा २ दिने निशुल्क शिविरको सुरु भएको हो ।दोस्रो दिन आइतबार बेसीशहर नगरपालिका वडा नं ९ को कार्यालय रहेको सन्यासी डाँडामा शिविर संचालन हुने आयोजकले जनाएको छ ।