बेसीशहरमा रोपाइँजात्राको रौनक: फोटो फिचर

-


     नयाँ दीप    
     भाद्र ११ गते २०८१ मा प्रकाशित


श्रीकृष्ण जन्माष्टमीको अवसर पारी लमजुङ सदरमुकाम बेसीशहरमा सोमबार रोपाइँजात्रा निकालिएको छ ।

बेसीशहरमा रहेका नेवार समुदायले परम्परादेखि देखाउँदै आएको रोपाइँजात्रामा स्थानीय नेवार समुदायका केटाकेटीदेखि बुढापाकासम्मले विभिन्न भेषभूषामा सजिएर रोपाइँजात्रा मनाएका हुन् ।

बेसीशहरको भीमसेनस्थानबाट शुरु भएको रोपाइँजात्रा त्रिवेणी टोल, मनाङे चौतारा, फूलबारी चोक, प्रशासन चोक, शेराचोक, विदाइ चौतारा, नारायण स्थान चोक हुँदै पुनः भीमसेनस्थानमा पुगी टुंगिएको छ ।

जात्रामा नेवार समुदायका २५० भन्दा बढी सहभागी थिए । यसबाहेक जात्रा हेर्नेहरुको संख्या भने ठूलो थियो ।

कृष्ण जन्माष्टमीमा बेसीशहर बजारमा पञ्चेबाजा बजाएर, हलगोरु नारेर, रोपारे र बाउसेहरु जम्मा भएर धूमधामले रोपाइँ गर्ने चलन परम्परादेखि चल्दै आएको हो ।

रोापइँजात्रा निकाल्ने अघिल्लो दिन सबैलाई निम्तो गरिन्छ । नेवार समुदायका केटाकेटी, युवा, बृद्ध मिलेर रमाइलो र ठट्याउलो पाराले फलाक्दै बजारका चोक र गल्लीहरुमा घुम्दै भोलिपल्टको जात्रा हेर्न निम्ता दिन्छन् ।

रोपाइँजात्रामा केही बालबालिका र युवाहरुलाई हली र गोरुको भेषमा सजिन्छन् । गोरु बनेका युवाहरुको काँधमा जुवा बाँधेर सोही डोरीको समाउने ठाउँनिर टीनको बट्टा बाँधेर खेत जोतेको अभिनय गरिन्छ ।

रोपाइँजात्रा लमजुङको भोटेओडार, सुन्दरबजार, गाउँशहर, उदिपुर, चिती, लगायत नेवारी वस्ती भएका क्षेत्रमा देखाउने गरिन्छ । विभिन्न गुठीमा आबद्ध रहेका नेवार समुदायहरु मिलेर यो जात्रा निकाल्छन् ।