
लमजुङ सदरमुकाम बेसीशहरमा मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतीमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको छ ।
चर्चित उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्वारा लिखित कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको उपन्यास एक चिहानलाई नाटकिय रुपमा मञ्चन गरिएको हो ।

नाटक एक चिहान नेपाली समाजका गरिब किसान र मजदुरहरुको जीवनमा आधारित छ । वि.स २०११ सालतिरको निम्न वर्गीय जीवनको यथार्थलाई सो नाटकमा प्रस्तुत गरिएको छ । गरिबी, वाध्यता र विवशताको परिवेशमा निम्न वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा विशेषगरि नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।
प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउदै गएको प्रगतिशिल सोचको परिवेश, सास्कृतिक सम्मिश्रण, समावेशी र समानताको लागि आवश्यक परेको तथ्य, रूढिवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकुल घटनाक्रम र स्वभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ । त्यस्तै समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातिय विभेद जस्ता विषयवस्तुमा व्याङ्ग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुती गरीएको छ ।
सात्यिकार हृदयचन्द्र सिंह प्रधान नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । प्रधानका साहित्यको उपन्यास विधामा स्वास्नीमान्छे र एक चिहान गरि दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिहरुबाट मुक्तिको मार्ग निर्देश गरेका छन् ।

“रङ्गमञ्चद्धारा शिक्षण सिकाई” भन्ने मुल नाराका साथ बुधबारदेखि शनिवारसम्म दैनिक तीन पटक नाटक मञ्चन गरिएको कार्यक्रम संयोजक एवं मञ्जरी नाट्य समुह लमजुङका अध्यक्ष केदार बोहोराले बताउनुभयो ।
बेसीशहरस्थित बरण्डा रेष्ट्रोमा मञ्चन भईरहेको नाटकको २ दिन सम्ममा विभिन्न विद्यालयका करिव २ हजार बालबालिकाले नाटकको अवलोकन गरेका आयोजकले बताएका छन् । वालबालिकामा रहेको प्रतिभालाई प्रष्फुटन गर्नका लागी वातावरण तयार गर्ने, विद्यार्थीहरुले विद्यालयमा नाटकका गतिविधी सन्चालन गर्न ज्ञान, सिप तथा आत्मबल सृजना गराउने र शिक्षण सिकाई प्रक्रियामा अभिनय विधीको महत्व बुझाउन सो नाटकले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने आयोजकको अपेक्षा छ ।
सो नाटकलाई साहित्यकार परिवर्तनले निर्देशन गरेका हुन् । परिवर्तन सो नाटकका एक सशक्त पात्र पनि हुन् । पोखरा थिएटरका परिकल्पनाकार, संस्थापक समेत रहेका परिवर्तन हाल सोेहि थिएटरमा प्रमूख कार्यकारी समेत छन ।

लमजुङमा स्थापना भएको मञ्जरी नाट्य समूहले पनि गत बर्षहरुमा पानी घट्ट, फड्के, नौगेडी लगायतका थिएटर नाटकसँगै विभिन्न सामाजिक विषयमा सडक नाटकहरु गर्दै आएको छ ।