
लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या भएको छ । गएराती बगैंचा स्थित आफ्नै घरमा अन्दाजी ६५ बर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको आशंकामा प्रहरी आज दिउँसो सोही स्थानका एक जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ पर्नेमा सोहि वडाको बजरखुट्टा बस्ने ४७ बर्षीय सुक बहादुर सार्की रहेका छन् ।
हत्यामा संलग्न रहेका सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो । प्रहरीले उनको घर बजरखुट्टाबाट धारिलो हतियार हँसिया समेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार घट्नाको अनुसन्धान भैरहेकोले पूर्ण विवरण भने, भोली मात्र सार्वजनीक गर्ने तयारी छ ।
घरमा एक्लै बस्दै आएकी सान्नानी आज बुधबार बिहान काठमाडौं जाने भन्दै स्थानीय जीप चालकलाई लमजुङको उदिपुरसम्म छोडिदिन भनेकी थिइन । जीप चालक बिहान उनलाई लिन आउदा उनको शब आगनमा लडिरहेको अबस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ । घरमा एक्लै बस्दै आएकी उनको छोरा बिदेश र बुहारी काठमाडौं बस्दै आएको पाइएको छ । घट्नाको अन्य विवरण भने आउन बाँकी छ ।