
आफैं काम गर्ने घरबाट रकम चोरी गरेको अभियभोगमा एक युवालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
करिब ४ लाख नगद रकम चोरी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका– ३ घर भएका ३९ बर्षीय हरि राना रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका रानाको साथबाट नगद ३ लाख ७५ हजार १ सय ६० रुपैँया बरामद गरिएको छ ।
बेसीशहर नगरपालिका– ११ चितिमा ज्याला मजदुरीको काम गर्दै आएका रानाले चिति तीनपिप्ले स्थित गणेशप्रसार श्रेष्ठको घरबाट नगद चोरी गरी भागेका थिए ।
श्रेष्ठको घरमा विगत १२ दिन अघिदेखी मिल चलाउने काम गर्दै आएका राना बुधबार बिहान साढे १० बजे नगद चोरी गरेर भागेको उजुरीपछि खोजीका क्रममा प्रहरीले रानालाई पक्राउ गरेको हो ।
प्रहरीले दोर्दी गाउँपालिका– २ अर्चलबोट नजिकैबाट लुकुछिपी हिँडिरहेको अवस्थामा रानालाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता इन्सपेक्टर थानेश्वर चपाईले बताए ।
रानालाई बिहिबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।









