
लमजुङको क्व्होलसोंथार गाउँपालिका वडा नंं ३ बगुमका ११ बर्षका निरज गुरूङलाइ बेसीशहरको युनिभर्सल एकेडेमी बोर्डिङ स्कुलले कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ । गत असार ११ गते राती गएको पहिरोमा परी परिवार गुमाएर टुहुरो भएका गुरूङको १२ कक्षा सम्मको पढाईको जिम्वेवारी यूनिभर्सल एकेडेमीले लिएको हो ।
बेसीशहर नगरपालिका वडा नं ७ मा रहेको बोर्डिङका पूर्व अध्यक्ष एवं क्व्होलसोंथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घलेले निरजलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने जानकारी गराएका हुन् । गाउँमै कक्षा ६ मा अध्ययन गरिरहेका निरज युनिभर्सलमा कक्षा ५ मा भर्ना गरि पढाउन सुरु गरिएको छ ।
युनिभर्सल एकेडेमीका प्रिन्सिपल बिमल अधिकारीले हरेक बालबालिकाको आधारभूत कुरा शिक्षा भएकाले र विपदमा परी परिवार गुमाएका निरजलाइ जीवन निर्वाह गर्न सहज होस भनि कक्षा १२ सम्म विद्यालयले निःशुल्क अध्यापन गराइदिने निर्णय गरेको जानकारी दिनुभयो । अधिकारीका अनुसार विद्यालयले कक्षा १२ सम्मको पठन पाठनमा कुनै शुल्क लिने छैन ।
बालकलाई विद्यालयकै छात्राबासमा बसेर अध्ययन गर्ने वातावरण बनाउने र आवास बापत न्यूनतम शुल्क मात्र लिइने जानकारी प्रिन्सिपल अधिकारीले बताउनुभयो ।
बालक सचिनलाई कक्षा १२ सम्म अध्ययनका लागि कृषक जागरण साकोस बेसीशहरले बार्षिक रु १० हजार रुपैयाँका दरले छात्रावृत्ति समेत उपलब्ध गराउने भएको छ ।
सचिनका बाबुको ५ बर्ष अघि करेण्ट लागेर निधन भएको थियो । उनकी आमा ३७ बर्षकी पञ्चकुमारी, हजुरबुवा ६९ बर्षका रुद्रमान गुरुङ र बहिनीहरू ७ बर्षकी ईच्छा गुरुङ तथा ५ बर्षकी नम्रता गुरुङको गत असार ११ गतेको पहिरोमा परी मृत्यु भएको थियो ।
पहिरो पिडितहरुका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट सहयोग प्राप्त भएको क्व्होलसोंथार गाउँपालिका वडा नं. ३ का अध्यक्ष आशबीर गुरूङले जानकारी दिनुभयो ।