प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन

-


     नयाँ दीप    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ । यस्तै बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

आजको प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै प्रधानमन्त्रीको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदले मत दिए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।