
जिल्ला प्रशासन लमजुङले बजार अनुगमनलाई तिब्र बनाएको छ । जिल्लाका मुख्य बजारमा कार्यालयले छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा सदरमुकाम बेसीशहरका ठूला होटल, औषधी पसलहरु तथा पानी कम्पनीहरु कारबाहिमा परेका छन् ।
अनुगमन गरेका बेसीशहरका ९ वटा फार्मेसी मध्ये ४ वटा कारबाहीमा परेका छन् । अनुगमनका क्रममाम अधिकाश मेडिकल तथा फार्मेसिहरुमा म्याद सकिएका औषधीहरु भेटिएको, पर्यटन तथा उधोग कार्यालयमा दर्ता नभएको, बिक्री विल नभएको, साइक्याट्रिक तथा नारकोटिक औषधि बिक्री वितरणको अभिलेख नपाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो ।

जरिवानामा परेका फार्मेसीहरुमा बेसीशहरका सुमन मेडिकल हल, सुवास मेडिको फर्मा, रमेश फार्मेसी र प्रयन मेडिकल हल रहेका छन् । कारबाहिमा परेका पसललाई आवश्यक निर्देशन सहित जनही ५ हजार रुपैया जरिवाना गरिएको छ ।
त्यस्तैगरी जिल्ला प्रशासनको नेतृत्वमा भएको बेसीशहरका ठूला होटलहरु तथा पानी कम्पनीहरुमा समेत अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा बेसिशहर नगरपालिका वडा नं ७ मा रहेको गाउँशहर कालिका स्पलार्यस खानेपानी उद्योग, बेसिशहर नगरपालिका २ मा रहेको लमजुङ पानी उद्योगले जारको लेवलमा उत्पादन मिति, ब्याज नं. नराखेको, विक्री विल नभएको पाइएकोले ऐन नियम अनुसार कारवाही प्रकृया अघि बढाइएको छ भने राइनास नगरपालिका –७ स्थित स्पिङ्गो पानी उद्योगले बोतलको पानी प्रशोधनमा लापरवाही गरेको, अनुज्ञापत्र नविकरण नगरेकोले तत्काल ५० हजार जरिवाना गरिएको छ भने तीनवटै खानेपानी उद्योगको पानी गुणस्तर परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा पठाइएको छ ।
त्यसैगरी बेशिशहर नगरपालिकामा नाम चलेका होटल एवं रेस्ट्रोलाई समेत प्रशासनले अनुगमन निरिक्षण गरेको छ ।

अनुगमनका क्रममा बरण्डा रेस्ट्रो एण्ड इभेन्टस र गेट वे हिमालय रिसोटले दर्ता प्रकृया पुरा नगरेको, किचनमा सरसफाइमा ध्यान नदिएको, लेभल मिलाएर नराखेको देखिएको तथा गंगापूर्ण होटलले किचन ब्यवस्थापनमा लापरवाही गरेको पाइएपछि तीनवटै होटललाइ आवश्यक निर्देशन सहित जनही १०\१० हजार जरिवाना गरिएको छ ।
लमजुङ जिल्ला स्थितका सम्पूर्ण व्यवसाय कानुनी रुपमा दर्ता प्रकृया गएर मात्रै सचालन गरी खाद्य स्वच्छता, गुणस्तर, सरसफाईमा विषेश ध्यान दिन आग्रह गर्दै आगामी दिनमा प्रशासनले हप्तामा १ दिन अनिवार्य बजार अनुगमन गरिने अनुगमनका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । नागरिकका जनगुनासो बमोजिम कहाँ कुन क्षेत्र अनुगमन गर्नु पर्न हो सोही जनभावना अनुसार जिल्लाका सबै स्थानीय तहका सबै क्षेत्रमा बजार अनुगमन गरिने सुयलको भनाई छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन, पर्यटन तथा उधोग कार्यालय, लमजुङ अस्पताल, स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, उधोग वाणिज्य संघ र पत्रकार लगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङले २०८० असोज देखि हालसम्म १९ औ पटक तथा नयाँ वर्ष २०८१ लागेपछिको चौथो पटक बजार अनुगमन गरेको हो ।