
लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको ३ वटा कृतिको एकसाथ सदरमुकाम बेंसीसहरमा शनिबार विमोचन गरिएको छ । सय छन्द (कविता संग्रह), तिम्रो गमला मसित बोल्दैन (खण्डकाव्य) र विषालु धरती (महाकाव्य) को प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, लेखक एवं समालोचक प्रा.डा. देवी नेपाल, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा र श्रष्टा श्रीकृष्ण न्यौपानेले एकसाथ विमोचन गर्नुभएको हो ।
पिङ्गल छन्द लमजुङको आयोजनामा साहित्यकार न्यौपानेको तीनवटै कृति विमोचन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पश्चिमा संस्कृतिबाट नेपाली भाषामाथि आक्रमण भइरहेको अवस्थामा साहित्यका माध्ययमबाट नेपाली भाषा जोगाउन न्यौपानेका कृतिले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अहिले बोलीचाली वा औपचारिक कार्यक्रमहरुमा पश्चिमाको नक्कल र भाषा प्रयोग भइरहेको भन्दै उहाँले छन्दमा लेखिएका साहित्यले नेपाली भाषा र साहित्य संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

वरिष्ठ कवि, लेखक एवं समालोचक प्रा.डा. देवी नेपालले छन्द सिक्न र सिकाउनको लागि श्रीकृष्णका सय छन्द कविता संग्रह काफी रहेको बताउनुभयो । उहाँले प्रयोगको लागि छन्द नभएर कविताको लागि छन्द प्रयोग भएको भन्दै खण्डकाव्य र महाकाव्यले छन्दबारे थप सिकाउने साथै यसले नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा टेवा पुग्ने दावी गर्नुभयो । साहित्यकार न्यौपानेका रातो बाघ (महाकाव्य २०८०), छली (सामाजिक काव्य २०४८, भाउजु (वियोगान्त खण्डकाव्य २०७९, भृकुटी (एतिहासिक काव्य २०७९) , आमा (खण्डकाव्य २०७९, राता सिपाही (खण्डकाव्य २०७९, फेसबुक लभ (खण्डकाव्य २०८०), शास्त्रीय गजलहरूको संगालो श्रीकृष्ण गजल संग्रह (२०७९) लगायत प्रकाशन भइसकेका छन् ।
बेंसीसहर नगरपालिका ११, रामचोकबेंसी घर भएका साहित्यकार न्यौपानेले २०५० सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी गीत समेत रेकर्ड गराउनुका साथै केही एल्बमसमेत निकालिसक्नुभएको छ । सुरिलो भाका हालेर गीत गाउन र कविता वाचन गर्न खप्पिस न्यौपाने पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँको विपसना नामक महाकाव्य प्रकाशोन्मुख रहेको छ । कृति विमोचनसंगै रचना वाचन र लेखन सीप प्रशिक्षण समेत गराइएको छ । कार्यक्रममा लेखक एवं समाचालेक प्रा.डा. नेपालले प्रशिक्षण दिनुभएको थियो ।
पिङ्गल छन्द प्रतिष्ठान बेंसीसहर नगर मञ्चका अध्यक्ष रणबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य यमबहादुर रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहयोगी श्यामविक्रम न्यौपानेले गर्नुभएको थियो ।
सोही अवसरमा पिङ्गल छन्द प्रतिष्ठान नेपालले रचना वाचन तथा लेखन सीप प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रममा करिब दुई दर्जन साहित्य अनुरागीले रचना पाठ गर्नुका साथै राष्ट्रिय कलाकार लोक गायक ईश्वरी अधिकारीले गीत प्रस्तुत गर्नुभएको थियो ।
छन्द, कविता र त्यसको प्रयोग तथा लेखन सीपका सम्बन्धमा छन्द गुरु प्रा.डा देवी नेपालले करिब ३ घण्टा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पछि प्रशिक्षणबाट लेखन सीपका सम्बन्धमा छोटो समयमा नै अद्भुत ज्ञान हासिल भएको सहभागीहरूको भनाइ थियो । पिङ्गल छन्द प्रतिष्ठान नेपालको उक्त भेलाले श्रीकृष्ण न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति समे चयन गरेको छ ।










