
मानव सेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरूपको सहारा बन्दै आएको छ ।
असाहय, दुखी र सडकमा रहेका बाबाआमाहरुका लागि नाना, खाना र छानाको सहजता बनाउनु नै आश्रमको मुख्य उद्धेश्य रहेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । कुनै पनि व्यक्ति सडकपेटीमा भोकै जीवनयापन गर्न नपरोस् भन्ने उद्धेश्यका साथ नेपाललाई मानवियताको राष्ट्र निर्माण गरी विश्वसामु चिनाउने उद्धेश्य रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
२०६९ साल भदौ १३ गते हेटौंडाबाट सुरु भएको मानव सेवा आश्रम हाल नेपालको १९ जिल्लाका २४ वटा सेवा केन्द्रबाट सेवा प्रदान भैरहेको छ । स्थापनादेखि हालसम्म १० हजार भन्दा धेरैको उद्धार भैसकेको छ । देशभरका आश्रममा हाल १७ सय जना रहेका छन् भने ति मध्ये १ हजार भन्दा धेरै मानसिक समस्या भएका र उनीहरुको उपचार भै रहेको छ ।
त्यस्तै विभिन्न आश्रममा गरी १ सय ५२ जना बालबालिका रहेका छन् जसमा ५२ जना आश्रममै आएर जन्मिएका बताइएको छ ।
सडकपेटीबाट आश्रममा आउने अधिकाशं मानसिक रोगीहरु रहेका छन् । कतिपय बालबालिकाहरु बाबाआमाको लापरबाहिको कारण पनि बेवारिसे बन्न पुगेका छन् भने सडकपेटीबाट कतिपय सम्पन्न परिवारका जेष्ठ नागरिकहरुको पनि उद्धार गरिएकोे अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
मानिसहरु खानाको भन्दा पनि प्रेमको भोको रहेकोले आश्रममा ल्याएर सर्वप्रथम प्रेमपूर्वक भावनात्मक उपचार गरी र अन्य उपचार गर्ने अध्यक्ष अधिकारीको भनाई छ ।
लमजुङको बेसीशहरमा रहेको मानव सेवा आश्रमले पनि हालसम्म १ सय ३३ जना सडक मानवहरुको उद्धार गरिसकेको छ । औपचारिक सुरुमा २०७३ साल चैत १२ गते देखि सुरु भएको आश्रमलेले ७ बर्षको अवधीमा यतिका बेसहारा सडक मानवहरुलाई उद्धार गरेको हो ।
बेसहार भई सडकपेटीमा रहेका तथा मानसिक तथा विभिन्न समस्यामा रही दयनिय अवस्थामा उद्धार गरेर ल्याएका १ सय ३३ जना मध्ये हाल बेसीशहर आश्रममा २६ जना बस्दै आएका छन् भने ४३ जनालाई उपचार गरी पारिवारिक पुर्नमिलन गराइएको छ । त्यस्तै गरी १० जनालाई थप उपचारका लागि अन्य शाखाहरुमा लगिएकोे र १८ जनाको मृत्यु भएको मानव सेवा आश्रम बेसीशहर शाखाका प्रमुख अनिता अधिकारीले बताउनुभयो ।
आश्रममा रहेका आश्रितहरुलाई सुरुका दिनमा खान लाउन दिन र घरको भाडा तिर्न पनि निकै धौ धौ हुने गरेकोमा पछिल्लो समय गण्डकी प्रदेशले जम्मा खर्चको ४० प्रतिशत जति सहयोग गर्न थालेपछि सहज भएको आश्रमले जनाएको छ । प्रदेशले आश्रितहरुका लागि प्रतिव्यक्ति दिनको १ सय रुपैयाका दरले सहयोग उपलब्ध गराउने गरेको छ । बाँकी खर्च आश्रममा जन्मदिन, बैवाहिक वर्षगाठ, बार्षिकी तिथी, व्यक्तिगत मुठी दान तथा सहयोग दिने दाताहरुबाट नै संचालन हुने गरेको बताइएको छ ।
मानवसेवा आश्रम (मानवता प्रर्वद्धन महा–अभियान) शाखा कार्यालय लमजुङको भवन निर्माण कार्य पनि जारी रहेको छ । भवन निर्माणका लागि बेंसीसहर नगरपालिका वडा नं. ९ पाखाथोकमा बाल सपना समाजले ५ रोपनी जग्गा दान गरेको थियो ।
त्यस स्थानमा रहेको अन्य ८ रोपनी जग्गा गरी १३ रोपनी जग्गामा २० करोडको लागत अनुमानमा मनोरम बाल उधान, खुल्ला व्यायम शाला, योग साधना हल, जेष्ठ नागरीक मनोरञ्जन केन्द्र र सुविधा सम्पन्न बाल मैत्री तथा जेष्ठ नागरिक मैत्री मानवसेवा आश्रमको आफ्नै भवन निर्माण गरिने छ । भवन निर्माणका लागि पर्याप्त पैसाको अभावले निर्माण कार्यमा ढिलाई भएको बताएको छ ।
१ सय ५० जनाको आवासिय सेवा प्रदान गर्ने गरी ४० कोठाको मानवसेवा आश्रमको भवन निर्माणको कार्यको ३० प्रतिशत काम सम्पन्न भएको मानव सेवा आश्रम बेसीशहरले जनाएको छ ।
०८२ साल सम्ममा नेपाललाई सहयोगापेक्षी, बेसहारा, अनाथ अभिभावकहरु तथा सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्ने अभियानमा मानव सेवा आश्रम लागि परेको छ भने सडकमा कुनै पनि मानिसहरु आउन नपरोस् भनेर विभिन्न चेतनामुलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।