स्थापना दिवशको अवसरमा पत्रकार महासंघद्धारा फलफूल वितरण

-


     नयाँ दीप    
     चैत्र १६ गते २०८० मा प्रकाशित


नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा लमजुङ शाखाले मानव सेवा आश्रम र आदर्श बाल गृह वेसीशहरमा फलफूल वितरण गरेको छ । मानव सेवा आश्रममा रहेका २६ जना आश्रितहरुका लागि र बाल आश्रममा रहेका १२ जान बालबालिकाहरुका लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखाले फलफूल वितरण गरेको हो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य नविनराज कुईकेल, पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, प्रेस यूनियनका उपाध्यक्ष गणेश पाण्डे, पत्रकार सृजना बराल, सन्देश पौडेल, निरज अधिकारी, आश गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा देशभर रहेका शाखाहरुले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।

दिवसका अवसरमा शुभकामना दिँदै महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गरी आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई शुभकामना व्यक्त गरेका छन् । उनले अहिले सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको बताएका छन् । उनले प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी सञ्चारसम्बन्धी कानून निर्माणको प्रकृया अघि बढाउन सरकारसँग आग्रह समेत गरेका छन् ।

वि.सं.२०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । संघ स्थापना भएको दिनलाई आधार मान्दै महासंघले चैत १६ गते स्थापना दिवस मनाउँदै आएको छ ।