
माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबार देखि सुरु भएको छ । विहिबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण ढंगले सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले जनाएको छ । पहिलो दिन जिल्ला भर १७ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख विरबहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एस्ईई) मा लमजुङका २ हजार ६ सय ७८ जना विद्यार्थीले परीक्षा दिने गरि फारम भरेका थिए । जसमा नियमित साधारणतर्फ २ हजार ४ सय ९७ जना, प्राविधिकतर्फ १ सय ७१ जना र ग्रेड वृद्धितर्फ ११ जना विद्यार्थी परिक्षामा सहभागी हुने गरि फारम भरेकोमा नियमीत तर्फका १७ जना परिक्षार्थी अनुपस्थित भएका छन् । परिक्षा सञ्चालनका लागि लमजुङमा १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको दोस्रो दिन शुक्रबार नेपाली विषयको परिक्षा सञ्चालन हुनेछ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको छ ।
परीक्षाको पहिलो दिन जिल्ला परिक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ सहितको टिमले बेसीशहरका परीक्षा केन्द्रको अनुगमन गर्नुभएको छ । अनुमगनका क्रममा परिक्षा मर्यादित शिष्ट र अनुशासीत ढंगले सञ्चालन भएको पाइएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनुभयो । परिक्षामा कुनै पनि खालको अवान्छित गतिविधि हुन नदिने गरि सुरक्षा व्यवस्था मजवुद बनाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ ।